Logo

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



काठमाडौं, वैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए। सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्ला गरिदिएको थियो। मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot