Logo

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव स्थगित, सत्ता जोगाउने अन्तिम प्रयास चल्यो



एजेन्सी, ११ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अझै अगाडि बढेन । पाकिस्तानको संसदले प्रस्तावलाई अगाडि बढाउन अलमल गर्दै स्थगित गरेको हो ।

पाकिस्तानको संसदका सभामुख असद कैसरको कदमलाई खानको सत्ता जोगाउने प्रयासका रुपमा लिइएको छ । आज शुक्रबार प्रस्ताव सदनमा बढाउने भनिएकोमा स्थगित गरी सोमबारका लागि तय गरिएको छ । सभामुखको कदमको विपक्षीले आलोचना गरेका छन् । पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टोले सभामुख कैसरलाई इमरान खानको नोकर भनेका छन् ।

खानविरुद्ध विपक्षीले आर्थिक संकट बढाएको, देशलाई टाट पल्टाउन खोजेको, विदेशीको एजेन्ट सम्मको आरोप लगाएका छन् । उनलाई तत्काल राजीनामा दिन दबाब बढाएका छन् ।

सन् २०१८ मा पाकिस्तानको शक्तिशाली सेनाको साथ पाएर खानले चुनाव जितेको विश्लेषणहरु भएका थिए । तर, त्यही सेनाले उनको साथ छाडेको विषय बाहिर आएको छ । तर, खानले आफूलाई सेनाको साथ रहेको बताउँदै आएका छन् ।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान विवादास्पद अभिव्यक्तिले चर्चामा आइरहन्छन् । उनीमाथि विपक्षीले मात्र नभई आफ्नै दलका सांसदहरुले विद्रोह गरेका छन् । पाकिस्तानको संसदमा बहुमतका लागि १७२ सांसदको साथ आवश्यक रहेकोमा खान अन्य दलको सहयोगमा बहुमतको सरकार चलाइरहेका थिए । तर, आफ्नै दलका २० सांसदले विद्रोह गरेपछि उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने अवस्थामा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot