Logo

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी



खार्तुम, ३ जेठ । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् ।

“ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले सुडानको भ्रमणपछि राष्ट्रसङ्घीय न्युज सेन्टरले केन्द्रले उनलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई पहुँचको स्तरमा आदर्श परिवर्तनको आवश्यकता छ, अन्यथा हामीले सुडानमा विपत्ति देख्नेछौँ ।”

स्काउले गम्भीर खाद्य असुरक्षाबाट पीडित अनुमान गरिएका एक करोड ८० लाख सुडानीमध्ये डब्ल्युएफपी २५ देखि ३० प्रतिशतसम्म मात्र पुग्नसकेको बताए ।

उनले सुडानमा नागरिकहरूको सुरक्षा गर्न र मानवीय प्रतिक्रियालाई सुदृढ पार्न ठोस कूटनीतिक प्रयास र थप स्रोतहरू तत्काल आवश्यक रहेको बताए ।

डब्ल्युएफपीका अनुसार सुडानमा कम्तीमा ५० लाख मानिस भोकमरीको सँघारमा छन् । तीमध्ये अधिकांश गत वर्ष अप्रिलमा सुरु भएको द्वन्द्वबाट प्रभावित क्षेत्रहरू डार्फर र कोर्डोफान क्षेत्र र राजधानी खार्तुमका रहेका छन् ।

डब्ल्युएफपीले द्वन्द्व दोस्रो वर्षमा प्रवेश गरेसँगै सुडानले विश्वको सबैभन्दा खराब भोकमरी र सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्का अनुसार सुडानको आधा वा करिब दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । करिब एक करोड ८० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

सुडानले सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच घातक झडपको सामना गरिरहेको छ । झडपका कारण हालसम्म १५ हजार पाँच सय ५० व्यक्तिको ज्यान गएको छ । यसैगरी ८७ लाख जनता विस्थापित भएको अनुमान राष्ट्रसङ्घीय मानवीय मामिला समन्वयको कार्यालयले गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्