Logo

भारतीय मिडियाको विश्लेषणः ओली प्रधानमन्त्री हुँदा ‘चीनको प्रभाव’, देउवा हुँदा ‘भारतसँगको सम्बन्ध सुदृढ’



काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ चैत्रबाट सुरु गर्ने तीन दिने भारत भ्रमणबारे भारतमा चासो बढेको छ । भारतीय मिडियाहरुले भ्रमणबारे खबरहरु प्रकाशित गर्दै विश्लेषण पनि गर्न थालेका छन् ।

भारतको प्रभावशाली मानिएको समाचार एजेन्सी एएनआईमा नेपाल भारत सम्बन्धमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालसँग जोडेर तुलना गरिएको छ । उसले ओलीको कार्यकालमा नेपाल-भारत सम्बन्ध निकै तनावग्रस्त सम्म पुगेको उल्लेख गरेको छ । चीनको प्रभाव बढेको र त्यो भारतविरुद्ध प्रयोग भएको विषय उठाएको छ ।

ओलीले तत्कालीन नेकपाको आन्तरिक विवाद हुँदा उक्त दलका शिर्ष नेताहरुमाथि चीनले प्रभाव बनाएको समाचार रिपोर्टहरु रहेको समेत भनेको छ । एएनआईले चीनको दबाबमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय उठाएको आरोप लगाएको छ ।

चीनसँग सैद्धान्तिक रुपमा नजिक रहेका नेताहरुमा बामदेव गौतम, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड रहेको भन्दै एएनआईले ती नेताहरुले पनि कालापानीको विषय उठाएको भनेको छ । उसले भारतका रअका प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरेको, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव हषवद्र्धन श्रृंगलाले पनि नेपाल भ्रमण गरेपछि विस्तारै निकटताको वातावरण विकास भएको भनेको छ । सम्बन्ध तनाग्रस्त हुँदा पनि भारतले कोभिड १९ को भ्याक्सिन देखि विभिन्न पूर्वाधार विकासका आयोजनामा सहयोग गरेको समाचारमा उल्लेख छ ।

२०७२ सालमा संविधान निर्माण हुँदा भारतको असन्तुष्टि देखि विस्तारै सम्बन्धमा सुधार भएका विषय समेतको विश्लेषण गर्दै सैन्य तहको मजबुत सम्बन्धबारे व्याख्या गरिएको छ । विगतको समिक्षा गर्दै भविष्यमा देउवा र मोदीले कुनैपनि समस्या भए बसेर छलफलबाट समाधान गर्ने भनिएको छ ।

दुई देशबीच विभिन्न तहमा भएका भ्रमणको पनि चर्चा गरिएको छ । जसमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालाको नेपाल भ्रमण पछि काँग्रेस नेता डा. प्रकाशशरण महतलगायत टोलीको भारत भ्रमण पनि उल्लेख छ ।

संवाद र भ्रमणबाट सम्बन्ध सुदृढ हुँदै गएको र देउवाको कार्यकालमा दुई देशबीच विगतमा रहेको तनाव अन्त भएको एएनआईले उल्लेख गरेको छ । गत नोभेम्बरमा ग्लास्गोमा देउवा र मोदीबीच साइडलाइनमा वार्ता भइसकेको छ । यसपटकको औपचारिक भारत भ्रमणमा सम्बन्ध सुदृढ बनाउनेबारे संवाद हुने भनिएको छ । समग्रमा ओलीको कार्यकालमा चिनियाँ प्रभाव बढेको र भारतलाई अप्ठ्यारो पार्ने गतिविधि भएको र देउवाको कार्यकालमा सम्बन्ध सुदृढ भएको चर्चा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot