Logo

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…



एजेन्सी, १७ चैत्र । पाकिस्तानमा एकजना हिन्दू किशोरीको गोली हानी हत्या भएको छ । गत हप्ता सिन्ध प्रान्तको सुक्री जिल्लास्थित रोहरी सहरमा १८ वर्षीया पूजा कुमारीको हत्या भएको हो ।

पूजाले धर्म परिवर्तन गर्न अस्वीकार गरेकी थिइन् । उनलाई धर्म परिवर्तन गरी मुसलमान पुरुषसँग विवाहका लागि वाध्य पार्न खोजिएको थियो । त्यसलाई अस्वीकार गरेपछि उनको हत्या भएको थियो ।

पूजाको हत्यापछि पाकिस्तानमा अल्पसंख्यक हिन्दूहरु असुरक्षित महशुश गर्न थालेको खबर अलजजिराले प्रकाशित गरेको छ । पूजाको परिवार सामान्य गार्मेन्टका कामदार रहेको र उनीहरुले आफ्नी छोरी निकै खुशीको जीवन बाँच्दै गर्दा हत्या भएको जनाएका छन् ।

पूजालाई लसरी समुदायका वहिद बक्स लसरीले हैरान पार्दै आएको परिवारले खुलाएको छ । २४ वर्षीय लसरीले बलपूर्वक विवाह गर्न खोजेका थिए । परिवार प्रहरी कहाँ उजूरीका लागि जाँदा पनि शक्तिशाली जमिन्दार परिवार भएकाले सुनुवाई नभएको उल्लेख छ ।

२१ मार्चमा लसरी जर्बजस्ती पूजाको घरभित्र छिरेर अपहरण गरेका थिए । दुई सहयोगीसहित पसेका उनले पूजामाथि गोली प्रहार गरेका थिए । परिवारका सदस्यले अलजजिरालाई उदृत गर्दै पूजाले अपहरणकारीसँग विवाह गर्नुभन्दा प्रतिकार गर्न तयार हुँदा मारिनुपरेको भनेका छन् । २१ मार्चकै राति लसरीलाई प्रहरीले दुई सहयोगीसहित पक्राउ गरेको छ । यो घटना पाकिस्तानको सामाजिक सञ्जालमा निकै चर्चामा छ ।

अधिकारवादी संस्थाहरुले हरेक वर्ष एक हजार मुस्लिम अल्पमत पाकिस्तानी हिन्दू महिलालाई धर्म परिवर्तनका लागि वाध्य पारिने गरेको खुलाएका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी हफिज ताहिर मेहमुद असरफीले बलपूर्वक धर्म परिवर्तन इस्लामको शिक्षा विपरित रहेको तर्क गरेका छन् ।

सन् २०१७ को पाकिस्तानको जनगणनाले ९७ प्रतिशत मुसलमान जनसंख्या देखाएको छ । २ प्रतिशत हिन्दू छन् । पाकिस्तानको कूल हिन्दू जनसंख्याको ९० प्रतिशत सिन्ध प्रान्तमा बसोबास गर्छन् । उक्त प्राप्त हिन्दू बहुसंख्यक भारतको सीमा नजिक पर्दछ ।

गत वर्ष अमेरिकाले पाकिस्तानलाई धार्मिक स्वतन्त्रताको हनन हुने राष्ट्रको सूचीमा राखेको छ । अधिकारकर्मीहरुले त्यहाँ १२ वर्षका केटीहरुको समेत जर्बजस्ती धर्म परिवर्तन गराइएको विवरण उल्लेख गरेको जनाइएको छ । सन् २०१९ मा दुई हिन्दू दिदीबहिनीलाई अपहरण गरी जर्बजस्ती धर्म परिवर्तन गराइएको विषयले चर्चा पाएको थियो ।

सन् २०१६ मा सिन्ध प्रान्तले एउटा कानून नै पारित गरेकोे छ जसमा जर्बजस्ती धर्म परिवर्तन गराएमा जन्मकैद समेतको प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्