Logo

उपत्यकामा आज घोडेजात्रा मनाईदै, यस्तो छ घोडेजात्रा मनाउनुको अनौठो रोचकता



काठमाडौ, चैत १८। आज चैत्र कृष्ण औँसी । उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

जानकारका अनुसार पहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो ।

पाटनको बालकुमारीमा एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन छ । यो जात्रालाई अब हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ ।

टुँडिखेलमा जात्राको बढाइँ भएपछि फर्सी, लौका, सिमी, बोडी, घिरौँलालगायतका लहरे तरकारीको बीउ रोप्ने प्रचलन काठमाडौँ उपत्यकामा छ । घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ ।

यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने चलन छ । घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्दैै आएको छ।

आज टुडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु घोडेजात्रा विशेष समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आजै भारत भ्रमणमा जाने तयारी रहेकाले घोडेजात्रा समारोहमा समभागी हुनेछैनन् ।



प्रतिक्रिया दिनुहोस्