Logo

अर्थतन्त्र नाजुक डिलमा छ, अलिकति संयमित भएनौं भने श्रीलंकाको हालत हुन्छः डा. विमल कोइराला



काठमाडौं, २४ चैत । पूर्व मुख्यसचिव एवं अर्थविद् डा. विमल कोइरालाले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, अन्तर्राष्ट्रिय परिस्थिति र कोभिडको प्रकोपका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले भने, “यो अवस्था रातारात उत्पन्न भएको होइन । समस्या थुप्रिँदै थुप्रिँदै गयो । कोभिडका कारण पर्यटन क्षेत्र संकुचित भयो । रेमिट्यान्स घटिरहेको छ । विदेशी लगानी र निर्यात ठप्प जस्तो छ । वस्तु तथा सेवाको आयातका लागि विदेशी मुद्राको सञ्चिति ११ महिनाबाट घटेर ६ महिनामा आएको छ । ३ महिनामा झरेपछि श्रीलंको जस्तो भयावह अवस्था आउन सक्छ । सरकारले दीर्घकालिक रुपमा अर्थतन्त्रलाई स्वस्थ राख्ने हो भने संयमित भएर आकस्मिक व्यवस्थापनमा जानुपर्छ ।”
डा. कोइरालाले राजनीतिक प्रियतावाद र कटु आर्थिक यथार्थ सँगै जान नसक्ने बताए । उनले भने, “अहिले हामी नाजुक मोडमा छौं । डिलबाट खस्यौ भने के हुन्छ, यसै भन्न सकिँदैन । हामी लामो समयदेखि राजनीतिमा धेरै अल्झियौं र राजनीति ठीक भएपछि सबै ठीक हुन्छ भनेर बस्यौं । अब नेताहरु पनि गम्भीर हुनुपर्छ । आम्दानीअनुसार खर्च गर्यौ भने अर्थतन्त्रले गति लिन्छ । अर्थतन्त्रको संकटका समाधान हुन्छ ।”
उनले मन्त्रीले कर्मचारीलाई कुट्नु व्यक्तिगत उन्माद भएको टिप्पणी गरे । उनले भने, “हिंसा समाज विकासको बाधक हो । यसलाई रोक्न नसके आम जनमानसमा राजनीतिप्रति झन् वितृष्णा उत्पन्न हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्