Logo

पाकिस्तानमा कुनै प्रधानमन्त्री पूर्ण कार्यकाल टिकेनन्



एजेन्सी, २६ चैत्र । पाकिस्तान दक्षिण एशियाको दोस्रो ठूलो देश हो । भूराजनीतिक दृष्टिले भारत, चीन, इरान र अफगानिस्तानसँग जोडिएकाले महत्वपूर्ण मानिन्छ ।

मध्य एशियाका पूर्वी सोभियत राज्यहरु र भारतको बीचमा अफगानिस्तान र पाकिस्तान जस्ता देशहरु छन् । यसकारण पनि इस्लामिक राज्य पाकिस्तान र अफगानिस्तानमा शक्ति राष्ट्रहरुको चासो छ । पाकिस्तानमा अफगानिस्तानको बलियो प्रभाव छ । त्यसैले शक्तिराष्ट्रहरु पाकिस्तानमा आफ्नो बलियो प्रभाव बनाएर अफगानिस्तानमा समेत प्रभाव बनाउन चाहन्छन् ।

पाकिस्तानले आफ्नो भूराजनीतिक महत्वको फाइदा उठाउँदै साउदी अरबलगायत इस्लाम खाडी देशहरुबाट आर्थिक फाइदा लिने गरेको छ । उसले आणविक हतियार समेत राखेको छ । तर, ती हतियार आतंकवादी संगठनको हातमा पुग्ने खतराहरु औल्याउने गरिएको छ । त्यहाँको राजनीतिक अस्थिरताले झन् खतरा बढाउने गरेको छ ।

पछिल्लो समय इमरान खानको सत्ता डगमगाउँदा अमेरिकामाथि सिधै आरोप लगाइएको छ । खान स्वयंले अमेरिकाले आफूलाई हटाउन खोजेको र विपक्षीहरु अमेरिकाबाट सञ्चालित रहेको आरोप लगाएका छन् । उनले आयातित सरकार स्वीकार्य नभएको बताएका छन् ।

अमेरिकाले पाकिस्तानमा बलियो प्रभाव बनाउँदै आएको छ । उसको पाकिस्तानसँग सैन्य सम्बन्ध पनि छ । त्यहाँको सत्ता उलटपुलटको घटनाहरुमा सेनाकै हात हुने गरेको छ । सेना बाह्य प्रभावबाट मुक्त छैन । पछिल्लो समय इमरान खानलाई हटाउन सेनाको समेत भूमिका रहिरहेको विश्लेषण भइरहेको छ । तर, उनले सेनाको दबाबको समेत सामना गरेर साहस देखाएको चर्चा छ ।

पाकिस्तानमा अहिलेसम्म १५ जना प्रधानम्न्त्री बनिसकेका छन् । उनीहरुमध्ये कुनै प्रधानमन्त्री पनि पूर्ण पाँच वर्षे कार्यकाल पदमा रहन सकेनन् । कसैलाई सेनाले बर्खास्त गरेर कू गर्यो त कसैलाई संसदले । अहिले खान पनि अविश्वासको प्रस्ताव सामना गर्न वाध्य भएका छन् । अदालतले सामना गर्नुपर्ने फैसला गरिदिएको छ ।

पाकिस्तानमा अहिलेसम्म ४ वटा सैनिक कू भएका छन् । कतिपय कूको प्रयास असफल पनि भएका छन् । त्यहाँ ३ दशकभन्दा बढी सैनिक शासन भएको इतिहास छ । निर्वाचित सरकारमा पनि सेनाको दबदबा रहने गरेको छ । पाकिस्तानमा राजनीतिक अस्थिरता बढी हुने गर्छ ।

पाकिस्तानमा ४ वर्ष प्रधानमन्त्री चलाउनेमा ४ जना मात्र छन् । तीमध्ये लियाकत अलि खान, बेनजिर भुट्टो, नवाज सरिफ र युसुफ राजा गिलानी मात्र हुन् । नरुन अमिन केही महिनामात्र प्रधानमन्त्री बनेर हटाइए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot