Logo

२१ दिनका लागि को बन्ला सशस्त्रको आइजीपी ?



काठमाडौं, २८ चैत्र । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आजबाट ४ वर्षे कार्यकाल पूरा गरी घर जाँदैछन् । ३० वर्ष कार्यकाल पूरा हुन २१ दिन बाँकी भएपनि सशस्त्र प्रहरी नियमावली अनुसार ४ वर्ष कमाण्ड सम्हाल्न पाइने भएकाले उनी सेवानिवृत्त हुन लागेका हुन् ।

खनाल घर जाने भएपछि उनकै ब्याचीमध्येका पुष्पराम केसी र नारायण पौडेल प्रतिष्पर्धामा छन् । उनीहरुलाई निमित्त दिने वा बढुवा गर्नेबारे टुंगो छैन । २१ दिनका लागि आइजीपी बन्न केसी र पौडेल दुवै दौडमा छन् । दुवै नुवाकोट स्थायी घर भएकाहरु हुन् ।

यसैगरी, आइजीपी खनाल सेवानिवृत्त भएपछि केसी र पौडेलमध्ये एक आइजीपी बनेलगत्तै रिक्त एक एआइजीमा डिआइजीहरुको बढुवा हुनेछ । डिआइजीमा राजु अर्याल वरियतामा अगाडि छन् । त्यसपछि नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम छन् । तीनैजना आइजीपी बन्ने मार्ग प्रशस्त गर्न एआइजीमा बढुवाका लािग दौडमा छन् ।

अर्याल आइजीपी बन्नेमा ढुक्क छन् । तर, पौडेल र गौतमको पनि दौडधूप तिव्र भएको छ ।



प्रतिक्रिया दिनुहोस्