Logo

जनकपुरमा दलहरु चुनावी उम्मेदवार छनोटको कसरतमा



जनकपुर, २८ चैत । स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरु कसरी तालमेल गर्ने ? कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने ? साझा उम्मेदवार कसरी छनोट गर्नेलगायत विषयमा आन्तरिक तथा गठबन्धन दलभित्र छलफलमा केन्द्रित छन् भने गठबन्धन इतरका दलहरु उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।

केही दिनअघि सत्तारूढ गठबन्धन आबद्ध दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशका सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन जिल्लालाई पत्राचार गर्ने निर्णय गरेको थियो । प्रदेशको आठवटै जिल्लास्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर चैत २२ गते मङ्गलबारसम्म प्रतिवेदन बुझाउन पत्राचार गरिए पनि जिल्ला जिल्लाबाट प्रतिवेदन आइनसकेकाले थप बैठक बस्न नसकेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए।

यद्यपि जिल्ला जिल्लामा तालमेलका लागि सत्तारूढ गठबन्धनको बैठकहरु भइरहेको जनाइएको छ । विभिन्न जिल्लामा गठबन्धन दलबीचको बैठक हुन बाँकी रहेकाले प्रदेशस्तरीय गठबन्धन दलहरुको बैठक बस्न नसकेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले बताउनुभयो । जिल्ला जिल्लाबाट आएको सुझावसहितको प्रतिवेदनका आधारमा गठबन्धनको बैठक बस्ने उनको भनाइ थियो ।

अघिल्लो स्थानीय तहको चुनावमा देखिएको कमीकमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिक योजनाका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए। प्रदेशभरिका सबै स्थानीय तहको वडावडामा टोल समिति गठन गर्नाका साथै पालिकास्तरीय, प्रदेशसभा स्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न भइसकेको उनको भनाइ थियो ।

“स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमहरु गरिरहेका छौँ,” प्रदेश सभापति यादवले भने, “स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरुका आकाङ्क्षीहरुमध्ये सम्भावित उम्मेदवारहरुको सूची तयार भइरहेको छ ।”

गठबन्धन आबद्ध दलहरु साझा उम्मेदवार खोजी गरिरहँदा एक्लै चुनाव लड्ने तयारीमा रहेको नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी भने उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । पार्टी विभाजनपश्चात् मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ नेकपा एमालेले आठवटै जिल्लाका स्थानीय तहमा चुनाव लक्षित कार्यक्रम अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot