Logo

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण



मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।

उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् । स्वर्गीय दाइ राजकुमार बानियाँको स्मृतिमा इन्द्रले आफ्नै निजी खर्चमा एम्बुलेन्स किनेर मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष वाइबाको आग्रह अनुसार स्वर्गीय दाइ राजकुमारको स्मृतिमा एम्बुलेन्स प्रदान गरेको बानियाँले बताए । राजनीति समाजसेवा गर्नका लागि गरेको भन्दै उनले जनताको सेवाका लागि एम्बुलेन्स दिएको धारणा राखे ।

एम्बुलेन्स दुर्घटना हुँदा डेलीभर हुँदा र अन्य अवस्थामा तत्काल उपचार गर्न आवश्यक पर्ने भएकाले जनताको हितका लागि एम्बुलेन्स उपलब्ध गराएको उनको भनाइ छ । बनियाँले मार्खु स्वास्थ्य चौकीको स्तरोन्नति र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले राजनीति समाजसेवा भएको बताउँदै एम्बुलेन्स उपलब्ध गराउने बानियाँलाई धन्यवाद ज्ञापन गरे । बानियाँले राज्यबाट पाउने सेवा सुविधा समेत समाजसेवामा खर्च गरिरहेको जनाउँदै यो क्षेत्रको विकासमा उनको विशेष योगदान रहेको मन्त्री श्रेष्ठको भनाइ छ । एम्बुलेन्सले यो क्षेत्रका जनताको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष वाइबाले एम्बुलेन्स उपलब्ध गराउने नेता बानियाँलाई धन्यवाद दिए । आफ्नै निजी खर्चमा एम्बुलेन्स दिएकोमा बानियाँप्रति आभार समेत व्यक्त गरे ।

एम्बुलेन्स हस्तान्तरण समारोहमा मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, कांग्रेस ललितपुर महासमिति सदस्य मिनकृष्ण महर्जन, इन्द्रसरोवर गाउँपालिकाका कांग्रेस सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठलगायत विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

बनियाँले मकवानपुरको स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुले पनि उनी सामजसेवी राजनीतिज्ञ हुन् भन्ने प्रस्ट हुन्छ ।



प्रतिक्रिया दिनुहोस्