Logo

झारफुकका क्रममा महिलाको मृत्यु, धामी झाँक्रीसहित ७ जना पक्राउ



महेन्द्रनगर, बैशाख ४ । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा धामीझाँक्रीबाट झारफुक गराउँदा एक महिलाको मृत्यु भएको छ । अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया एकल महिला रन्चुला साउँदको मृत्यु भएको हो ।

महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ । धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार साउँदको शुक्रबार राति झारफुकका क्रममा उनकै जेठानी कमला साउँदको घरमा मृत्यु भएको हो । मृतक साउँद केही दिनदेखि बिरामी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि उनी झारफुकका लागि पुगेकी थिइन् । सोही क्रममा उनको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीहरु भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot