Logo

मोदी-सरिफ पत्र आदानप्रदानपछि भारत-पाकिस्तानबीच संवादको वातावरण बन्यो



एजेन्सी, ४ वैशाख । भारत र पाकिस्तानबीच कूटनीतिक तहमा संवादको वातावरण बनेको छ । दुवै देशका प्रधानमन्त्रीहरुले पत्र आदानप्रदान गरेका छन् ।

सेहवाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिदै लेखेपछि जवाफ शनिबार पुगेको इन्डिएन एक्सप्रेसले लेखेको छ । सरिफले भारतसँगको शान्तिपूर्ण र समझदारीपूर्ण सम्बन्धमा आशा व्यक्त गरे । उनले अर्थपूर्ण संवादबाट समझदारी निकाल्न सकिने भन्दै क्षेत्रीय शान्ति र सुरक्षामा प्रतिवद्धता व्यक्त गरेका छन् ।

सरिफ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । उनी प्रधानमन्त्री भएपछि मोदीले रचनात्मक साथमा जोड दिएका थिए ।
दुई देशबीचको सम्बन्ध बालाकोटको हवाई हमला र सन् २०१९ को पुलवामा हमला पछि बिग्रिएको छ । जम्मु काश्मिरमा भारतले विशेष अवस्थाको ३७० को धारा हटाएपछि झन् सम्बन्ध चिसिएको थियो । त्यसयता दुई देशबीच संवाद र भेटघाट नै बन्द भएको थियो ।

यसअघि पाकिस्तानका सबैभन्दा ठूलो उद्योगपतिले दुई देशबीच व्यापार सम्बन्ध सुचारु गर्नुपर्नेमा जोड दिएका थिए । समस्याहरु थाती राखेर व्यापारको निरन्तरतामा जोड दिएका हुन् ।

भारत र पाकिस्तानबीचको विवादले दक्षिण एशियाकै राजनीतिमा नकारात्मक असरहरु पर्ने गरेका छन् । यस क्षेत्रको आर्थिक विकासमा ठूलो असर पर्दै आएको छ । पाकिस्तानमाथि भारतले आफूविरुद्ध आतंकवादी गतिविधिको आरोप लगाउँदै आएको छ । पाकिस्तानले काश्मिर मामलामा भारतको आलोचना गर्ने गरेको छ ।

कुनैबेला एउटै देश भारत र पाकिस्तान पछि अलग देश भएका थिए । यी दुईबीच युद्ध पनि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्