Logo

सत्ता गठबन्धनबीच चुनावी तालमेलमा कुरा नमिल्ने संकेत



काठमाडौं, ४ वैशाख । सत्ता गठबन्धनमा चुनावी तालमेलको कुरा नमिल्ने संकेतहरु देखिएको छ । नेपाली काँग्रेसभित्र तालमेलप्रति तिव्र असन्तुष्टि भएसँगै कुरा नमिल्ने संकेतहरु देखिएको हो ।

काँग्रेसले कम्तिमा ४ महानगरपालिकासहित अधिकांश उमहानगरपालिका, आफूले जितेको नगरपालिका र गाउँपालिकासहित विगतमा एमालेले जितेको बढी भन्दा बढीमा उम्मेदवारी दाबी गरेको छ । माओवादी केन्द्रले पनि भरतपुर महानगरपालिकासहित उमहानगरपालिकाहरुमा घोराही, जितपुर मिरा, हेटौंडा र धरानमा उम्मेदवारी दाबी गरेको छ । काँग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी र हेटौंडामा दाबी गरेको छ । नेकपा एसले पोखरा महानगरपालिकासहित तुलसीपुर, हेटौंडा र इटहरी उपमहानगरपालिकामा उम्मेदवारी दाबी गरेको छ ।

जसपाले वीरगञ्ज महानगरपालिकाका अलावा नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दाबी गरेको छ । महानगरपालिकाहरु र उपमहानगरपालिकाहरुमा कुरा मिल्न कठिन देखिएको छ ।

गठबन्धनमा कुरा मिल्ने सम्भावना कम बन्दै गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक भेट तिव्र पारेका छन् । उनले आजै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईलाई भेटेका छन् । उनले आजै विप्लव नेतृत्वको नेकपाका हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलालाई पनि भेटेका छन् ।

प्रचण्डले गठबन्धनमा तालमेलको सहमति नबने नेकपा एस र जसपासँग मिलेर जाने रणनीति समेत बनाएको बुझिएको छ । प्रचण्डनिकट केही नेताहरु फेरि नेकपा एमालेसँग तालमेलको प्रयासमा समेत जुटेका छन् । गठबन्धनमा सहमति नबने विकल्पमा प्रचण्डले ओलीसँग सहमति गर्ने सम्भावना पनि औल्याइएको छ । यद्यपि, यो सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्