Logo

पाकिस्तानी नेताहरु किन ‘अमेरिकाविरोधी कार्ड’ प्रयोग गर्छन् ?



एजेन्सी, ५ वैशाख । पाकिस्तानका पूर्व क्रिकेट कप्तान इमरान खानले राजनीतिमा पाइला टेकेर प्रधानमन्त्री सम्म बने । उनको सरकार हालैमात्र ढलेको छ । सरकार ढल्नु अघि उनले अमेरिकाविरोधी नेताको छाप बनाए ।

सत्ता ढल्न लाग्दा खानले प्रधानमन्त्रीको कुर्सीमै बसेर अमेरिकाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । सत्ता ढलेपछि पनि उनले विरोधीहरुलाई अमेरिकाको इशारामा चलेको आरोप लगाए ।

अमेरिका विरोधी बोलीले खान सत्तामा टिक्न त सकेनन् तर पाकिस्तानमा भविष्यमा फेरि राजनीतिमा उठ्ने आधार तयार गरे । विदेशी हस्तक्षेप भन्दै कतिपय नागरिक सडकमा उत्रिए । खानले त्यस्तो वातावरण बनाउन सके ।

खानले नयाँ पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफलाई ‘अमेरिकाको पपेट’ को आरोप लगाए । नयाँ प्रधानमन्त्री सरिफले विदेश नीतिमा सन्तुलन कायम गर्न खोजेका छन् । उनले अमेरिकासँग पनि सन्तुलन कायम गर्ने प्रतिवद्धता जनाएका छन् ।

खानले अमेरिकाविरोधी अभिव्यक्ति दिनुमा पाकिस्तानभित्रको सेन्टिमेन्ट पनि हो । पाकिस्तानका नेताहरुमा ‘अमेरिका विरोधी’ कार्ड राजनीतिक अस्त्र बन्ने गरेको छ । कतिपय सर्वसाधारणहरु अमेरिकाको पाकिस्तानमा प्रभाव रुचाउँदैनन् ।

शितयुद्ध र सेप्टेम्बर ११ को अमेरिकाको जुम्ल्याहा भवनमा आक्रमणपछि चालिएको आतंकवादविरोधी गतिविधि पछि अमेरिका विरोधी भावना पाकिस्तानमा विकास भएको हो ।

सन् १९७० को दशकमा पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टोले अमेरिकाले आफूलाई सत्ताबाट हटाउन खोजेको आरोप लगाएका थिए । सन् २००७ मा आतंकवादविरुद्धको युद्ध उचाईमा पुग्दा सैनिक शासक परवेज मुसर्रफले अमेरकालाई पाकिस्तानको आदिवासी क्षेत्रमा सुरक्षा संकट ल्याउन खोजेको आरोप लगाएका थिए ।

सन् २०११ मा अबोटावादमा ओसामा बिन लादेन अमेरिकी कमाण्डो हमलामा मारिए । पाकिस्तानी भूमिमा अमेरिकाको सैन्य हेलिकोप्टर छिरेर लादेनलाई मारेर शव समेत अज्ञात स्थलमा गाडेको थियो । त्यस घटनाले पाकिस्तानमा अमेरिकी सैनिक छिरेको भन्दै त्यहाँका नागरिकमा अमेरिका विरोधी भावना झन् बढ्न पुग्यो ।

पाकिस्तानका धार्मिक दलहरुले अमेरिकालाई मुस्लिम विश्वमाथिको खतराका रुपमा उल्लेख गर्दै आएका थिए । यसलाई बुझेर इमरान खानले अमेरिका विरोधी सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न खोजेका छन् । उनी यसबाट भविष्यमा भरपूर लाभ लिन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्