Logo

साझा निर्वाचन चिन्ह बनाउन गाह्रो छः प्रचण्ड



काठमाडौं, ५ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा निर्वाचन चिन्ह बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताएका छन् । दाहालले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

गठबन्धनमा आबद्ध दलहरुकाबीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उनले भने, “निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिन्ह प्रयोग गर्दा सजिलो भने हुन्छ ।”

उनले एउटै पार्टीभित्र त साझा मत बनाउन गाह्रो हुने भएकाले गठबन्धन गर्दा केही असन्तुष्टि र केही विवाद हुनुलाई लोकतन्त्रमा अस्वभाविकरुपमा लिन नहुने उल्लेख गरे । साझा उद्देश्यका साथ एउटै मोर्चामा खडा भएका कारण सबै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले साझा सङ्कल्पलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे। उनले गठबन्धन कायम नभएका स्थानमा जो जससँग मिल्न सकिन्छ, त्यहाँ मिलेर जाने भन्नेमा सहमति रहेको बताए ।

उनले आफ्नो पार्टीलाई मात्रै गठबन्धन आवश्यक नभएको भन्दै साझा उद्देश्यका साथ अगाडि बढेकाले त्यसमा दाँयाबायाँ नहुने स्पष्ट पारे । माओवादीले एकलरुपमा निर्वाचन लड्नुपरे पनि त्यसको तयारी गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्