Logo

गठबन्धनमा तालमेलमा सकस भएसँगै माओवादी, एस र जसपाको फरक रणनीति



काठमाडौं, ६ वैशाख । स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । उम्मेदवारी मनोनयनको ७ दिन मात्र बाँकी छ । तर, सत्ता गठबन्धनबीच महानगरपालिका, उपमहानगरपालिकालगायत विभिन्न पालिकाहरुमा अझै सहमति बन्न सकेको छैन ।

काँग्रेसले ३, माओवादी, जसपा र नेकपा एसले ११ महानगरपालिकामा मेयर पाउने भित्री सहमति बनेको भनिएपनि पोखरामा कुरा मिल्न सकेको छैन । उपमहानगरपालिकाहरुमा पनि कुरा मिल्न सकेको छैन ।

गठबन्धनमा माथिबाट सहमति गरेपनि तलबाट मिल्न कठिन छ । विशेषगरी नेपाली काँग्रेसका कतिपय नेता र कार्यकर्ताहरुले गठबन्धनको विरोध गर्दै आएका छन् । स्थानीय तहमा धेरै आकांक्षी भएकाले काँग्रेसभित्र नै तिव्र प्रतिष्पर्धा छ ।

गठबन्धन मिलाउन कठिन देखिएपछि माओवादी, नेकपा एस र जसपाले अन्य विकल्पमा पनि छलफल बढाएका छन् । विभिन्न प्रदेशहरुमा उनीहरुको आफ्नै गठबन्धन बन्न थालेको छ ।

माओवादीभित्र काँग्रेस गठबन्धनका लागि तयार नभए अन्य विकल्पमा जानेबारे पनि छलफल चलेको छ । नेता वर्षमान पुनले एमालेसँग तालमेल गर्न दबाब दिदै आएका छन् । तर, प्रचण्डले मानेका छैनन् ।

एमाले पनि कमल थापा र एकनाथ ढकाललाई साथमा लिएर हिडिसकेको छ । सीके राउतलाई मनाउन लागिपरेको छ । हृदयश त्रिपाठी पनि एमालेसँग नजिक छन् ।

सत्ता गठबन्धनभित्र कुरा मिल्न कठिन हुँदा एमाले र काँग्रेस एक्लाएक्लै चुनाव लड्ने सम्भावना पनि रहन्छ । त्यस्तो अवस्थामा माओवादी, नेकपा एस र जसपालाई ठूलो धक्का लाग्न सक्छ । यसकारण उनीहरु तालमेल गरेर वा तेस्रो विकल्पमा जान सम्म ठिक्क परेका छन् । प्रचण्डले त एमालेसँग मिल्न ढोका बन्द नभइसकेको बताएका छन् । यसलाई काँग्रेससँगको बार्गेनिङको रुपमा हेरिएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेमा राजनीतिमा यु टर्न हुनसक्छ । फेरि कम्युनिस्ट शक्ति एक हुने अवस्था बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्