Logo

चुनावको मुखमा महेश बस्नेतको दक्षिण यात्रा किन ?



काठमाडौं, ६ वैशाख । यतिबेला नेकपा एमालेका नेता महेश बस्नेत दक्षिणको यात्रामा छन् । उनी भैरहवा नाका हुँदै उत्तर प्रदेशतर्फ केही दिन अघि लागेका थिए । आज उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेटवार्ताको तस्बिर सार्वजनिक भएको छ ।

धामी हिन्दूवादी नेता हुन् । उनी भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । उत्तराखण्डको चुनावमा पराजित भएपनि धामी नै मुख्यमन्त्री बनाइए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र धामी लामो समय हिन्दू संगठन राष्ट्रि स्वयंसेवक संघका कार्यकर्ता थिए । उनीसँग बस्नेतको भेटलाई महत्वपूर्ण मानिएको छ ।

बस्नेत एमालेभित्र हिन्दू राष्ट्रबारे बहस छिराउने पहिलो नेता हुन् । उनले यसबारे पनि बहस हुनुपर्छ भनेर प्रस्ताव लगेपछि तरंग आएको थियो ।

देशमा हिन्दूवादी सेन्टिमेन्ट बढ्दै गएको र त्यसको उचित सम्बोधनमा बस्नेतले पार्टीभित्रै जोड दिदै आएका छन् । एमालेभित्रको पृथक धार बनाएका र संगठनमा पनि पकड भएका बस्नेतको चुनावको मुखमा दक्षिण यात्रा अर्थपूर्ण छ ।

भक्तपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् । उनी अचानक भारत पसेर उत्तराखण्डमा देखापर्नु अघि केही राजनीतिक भेटघाटहरु पनि गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्