Logo

पाँचखालका मेयर महेश खरेलको नाम काट्ने चेतावनीपछि…



काभ्रे, ७ वैशाख । पाँचखाल नगरपालिकाको नेपाली काँग्रेसको नगर कमिटीले मेयर महेश खरेलको नाम नै सिफारिश नगर्ने चेतावनी दिएपछि हंगामा भयो । विहान देखि चलेको बैठकमा उनको चर्को आलोचना हुन थालेपछि उठेर हिंडे ।

खरेल व्यक्तिगत रुपमा सेलिब्रिटी बन्न खोजेको, काँग्रेस पार्टीलाई नै काभ्रेमा ओझेलमा पार्न खोजेको विषय जोडतोडले उठ्यो । त्यसपछि उनी बैठकमा केहीबेर मात्र बसेर हिंडेका थिए ।

बैठकबाट हिंडेका खरेलको शैलीबारे चिरफार हुन थाल्यो । पाँच वर्षमा खरेलले पार्टी कमिटी र जिल्लाका नेता कार्यकर्तालाई बेवास्ता गरेको विषय उठ्यो । त्यसपछि बैठककै अवमूल्यन गरेको भन्दै सर्वसम्मतले एकजनाको मात्र नाम सिफारिश गर्ने तयारी भयो ।

खरेलबाहेक एकजनाको नाम सर्वसम्मतले सिफारिश गर्ने चेतावनी दिदै तत्काल बैठकमा डाकिए खरेल । उनले सुरुमा आफू आउन नसक्ने भने । पछि नाम सिफारिशमा नपर्ने भनेपछि बैठकमा २ घन्टा पछि पुगेका थिए । त्यसपछि उनको चर्को आलोचना भएको बुझिएको छ । खरेललाई बैठकमा अरुलाई रैती र आफूलाई राजा ठान्ने स्वभाव भएको सम्म भनियो ।

यसै पनि खरेल पाँचखाल नगरपालिकाको मेयर भएपनि अधिकांश समय काठमाडौंमै बस्छन् । उनी लामो समय अमेरिका बसेर आएका हुन् ।
चर्को विवाद र बहसपछि मेयरका लागि १० जनाको नाम सिफारिश भएको छ । नगर कमिटी बैठकले वर्तमान मेयर महेश खरेलसहित १० जनाको नाम सिफारिश गरेको हो । सिपारिश नामहरुमा राजन कार्की, प्रलाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, उमेश बानिया, हेमकुमार लामा, निराजन लुइँटेल, नन्दुप्रसाद दुलाल र चन्द्रमणि आचार्य छन् ।

उपमेयरका लागि बद्रीप्रसाद खकुरेल, सावित्री लामिछाने, लक्ष्मी दनुवार, शान्तिलक्ष्मी श्रेष्ठ, सुनिता तामाङ्ग, कुसुम दुलाल, मनकुमारी दनुवा र लक्ष्मी श्रेष्ठको नाम सिफारिश भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्