Logo

निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप हाे, अन्यथा लिनहुन्न : प्रचण्ड



काठमाडौं, ८ बैशाख। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका दलहरुभित्र नमिलेका कुरा छिट्टै मिल्ने विश्वास व्यक्त गरेका छन् । दाहालले देशैभर गठबन्धन एकढिक्का भएर अघि बढ्ने समेत जानकारी दिए ।

आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनको बेला देखिने असन्तुष्टि लोकतन्त्रकै एउटा रुप भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए । “गठबन्धनमा मात्रै होइन्, एउटै दलभित्र समेत एउटाले टिकेट पाउँदा अर्को असन्तुष्ट हुनु स्वभाविक हो । झन् गठबन्धन नै तालमेलमा जाने भएपछि यसलाई सामान्यरुपमा लिनुपर्छ ।”अध्यक्षले भने, “तर अहिले देखिएका सबै असन्तुष्टि हल हुन्छन् । गठबन्धनका दलहरुले निकै सुझबुझका साथ निर्णय गरेका छौं । अहिले असन्तुष्ट देखिएका साथीहरुले समेत तालमेलको मर्म बुझ्छन् । हामी एकढिक्का भएर अघि बढ्छौं ।”

अध्यक्ष प्रचण्डले केन्द्रमा महानगर र उपमहानगरपालिका तालेमलबारे गठबन्धनले गरेको निर्णयको स्पिरिट अनुसार नगर र गाउँपालिकामा समेत गठबन्धन हुने बताए। उनले केही स्थानमा सम्भव नै नभएमा मात्र स्वस्थ्य प्रतिष्पर्धा हुने बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाइँ भएको बताए । “अहिले संविधानविरोधी, अग्गमनविरोधी र उपलब्धि उल्ट्याउन खोज्नेहरु एक ठाउँ पुगेका छन् ।” उनले भने,“यसबाट पनि हामी सही छ भन्ने देखाएको छ । देश दुर्घटनामा पर्ने बेला माओवादी र यसको नेतृत्वले खेलेको भूमिका सहि प्रमाणित भएको छ ।”अध्यक्ष प्रचण्डले सुदूरपश्चिममा माओवादी संगठन बलियो भएको बताए । कैलालीको मसुरियालगायत अन्य कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड कैलाली गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्