Logo

ललितपुर र विराटनगरमा बहालवाला मेयरको साटो अरुलाई सार्ने तयारीमा देउवा



काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर र विराटनगरमा मेयरका उम्मेदवारमा बहालवाला बाहेकलाई सार्ने तयारी गरेका छन् । यसबारे उनले आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।

ललितपुरमा काँग्रेसबाट चिरिबाबु महर्जन र विराटनगरबाट भीम पराजुलीले २०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए । तर, दुवैको नाममा सहमति जुटिरहेको छैन । देउवाले अन्यलाई उम्मेदवार बनाउने तयारी गरेकाले ढिलाई गरिरहेको बुझिएको छ ।

विराटनगरमा डा. डिला संग्रौलालाई उम्मेदवार बनाउनेबारे छलफल बढेको छ । उनी देउवानिकटस्थ सांसद हुन् । अन्य नामबारे पनि छलफल बढेको छ ।

ललितपुरमा चिरिबाबु महर्जनको विकल्पबारे पनि छलफल बढेको छ । पूर्व सांसद चन्द्र महर्जन र ललितपुरका स्थानीय नेता प्रेमकृष्ण महर्जनको नाममा छलफल चलेको बुझिएको छ । तीन नाममा सहमति नभए महिलालाई अगाडि सार्नेबारे पनि कुरा बढेको छ ।

काँग्रेसले गठबन्धनका तर्फबाट काठमाडौं, ललितपुर र विराटनगरमा मेयरको उम्मेदवार बनाउने सहमति भइसकेको छ । जस अनुसार काठमाडौंबाट सृजना सिंहको नाममा सहमति बनिसकेको छ । सिंहले आफ्नो तयारी सुरु गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्