Logo

उम्मेद्धवारी दर्तापछि बालेनको प्रतिक्रिया : म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ



काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए । ‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।

शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौं । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’ मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए ।

उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’ काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्