Logo

एमालेले हावादारी कुरा पनि गर्दैन, भ्यूटावर पनि बनाउँदैनः युवराज ज्ञवाली



काठमाडौं, १२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको घोषणापत्रमा भ्यूटावर बनाउने योजना नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “यसपटक एमालेको घोषणापत्र यथार्थवादी र वस्तुवादी छ । कुनै हावादारी कुरा गरेका छैनौं । भ्यू टावरको योजना बनाएका छैनौं । समाजवाद र समृद्धिलाई जोड दिएका छौं । घोषणापत्र अनुसार काम हुँदा अकल्पनीय प्रगति हुने स्थिति छ ।”
उनले स्थानीय तहदेखि संघीय चुनावसम्म एमालेको बहुमत आउने ठोकुवा गरे । ज्ञवालीले भने, पाँच दलीय गठबन्धन भए पनि नेकपा एमालेको पक्षमा व्यापक जनलहर छ । युवापंक्ति निकै आकर्षित भएको छ । पार्टी विभाजनले नोक्सान त पारेकै छ, तर जनमत थपिँदै छ । माइनसभन्दा प्लस धेरै भएको छ । हाम्रो बहुमत आउने पक्का छ । हामी आत्तिनुपर्ने स्थिति छैन ।”
साथै उनले स्थानीय स्तरमा तालमेल खुला भएको पनि बताए । ज्ञवालीले थपे, “एमालेले विराटनगर महानगरमा टुंगो लगाउन बाँकी छ । अध्यक्षलाई जिम्मा दिइएको छ । अलिअलि विवाद जहाँ पनि हुन्छ । पार्टीले निर्णय गरेपछि सहर्ष स्वीकारेर अघि बढ्नुपर्छ । राष्ट्रिय स्तरमा एमालेको कसैसँग तालमेल छैन । स्थानीय आवश्यकता अनुसार जोसुकैसित तालमेल गर्न सक्छौं ।”



प्रतिक्रिया दिनुहोस्