Logo

भोट माग्न मात्रै गाउँ आउने नेतासँग खुशी छैनन् मतदाता



गलेश्वर, १२ बैशाख । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् । हिजो आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु आजदेखि भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । कतिपय राजनीतिक दलले बाजागाजा र कार्यकर्ताहरुसहित आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिरहेका छन् ।

मध्य वैशाखको समय ग्रामीण भेगका मतदाताहरुलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामकै चटारो छ । गाउँमै आयोजित चुनावी सभाहरुमा मतदाताहरु अपेक्षा गरे अनुसार नआए पछि विभिन्न पार्टीका उम्मेदवारहरु मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन् ।

आइतबार तीनवटा स्थानीय तहमा नेपाली काङ्ग्रेसले बाहेक अन्य दलले मनोनयन दर्ता गर्न सकेनन् । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका अनुसार पहिलो दिन हिजो काङ्ग्रेसले मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पूरै प्यानल सहित उम्मेदवारी दर्ता गरेको हो ।

आइतबार रघुगङ्गा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारबाट मनोनयन दर्ता भए बाहेक अन्य पालिकामा मुख्य पदमा उम्मेदवारी खासै पर्न सकेन । काङ्ग्रेसले मालिका, रघुगङ्गा, अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।
उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् । यहाँका किसानलार्ई धानको बिऊ राख्ने, मकै गोड्ने, गहुँ थन्काउने लगायत कामको चटारो छ । नेताहरूलाई वैशाख ३० गते हुने स्थानीय निर्वाचन कसरी आफ्नो पोल्टामा पार्ने भन्ने चिन्ता छ । तर, किसानलाई भने चुनावले छोएको देखिएको छैन ।

खेती सम्हाल्न मै व्यस्त रहेका यी किसान आफूहरुको पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना राख्छन् । जौ, गहुँ थन्काउने, धानको बिऊ राख्ने, आलु लगाउने, मल हाल्ने, तरकारी खेती लगाउने जस्ता काममा यतिबेला कृषकहरू व्यस्त छन् ।
मालिका गाउँपालिका–५ देवीस्थानका टेकबहादुर बूढालाई वैशाख ३० को निर्वाचनमा कसलाई मत दिनेभन्दा पनि खेतीपाती लगाउने र स्याहार्ने कामकै चिन्ता छ । उनी भन्छन्, “जसले जिते पनि गाउँको विकास गर्ने होइनन् । कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला गाउँ आउँछन् । हामी त किसानी मान्छे आफ्नो काम ग¥यो, बस्यो ।”

“पार्टीका उम्मेदवार घरदैलोमा आई भोट माग्छन्, एउटाले जित्छ तर, वर्ष दिनसम्म खाने खेती गर्न छाडेर निर्वाचनमै अल्मलिए हामीसँग साँझ बिहान हातमुख जोर्ने उपाय हुन्न,” बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले भने ।

मंगला गाउँपालिका–४ की राधिका सापकोटा पनि आफ्नो गाउँमा राजनीतिक दलले निर्वाचनलाई लक्ष्य गरी आयोजना गरेका बैठकहरुलाई छाडेर मेलापात मै व्यस्त हुनुहुन्छ । पुरानै उम्मेदवार, पुरानै योजना, पुरानै नेता भएका कारण यस पटकको निर्वाचनमा कुनै नौलोपना नपाइएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्