Logo

७१ हजार २ सय ३७ जनाले दर्ता गराए उम्मेदवारी



काठमाडौं, वैशाख १३ । स्थानीय तहको निर्वाचनका लागि कुल ७१ हजार २ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिएको जानकारीअनुसार ७७ वटै जिल्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकाको मेयरमा २ हजार १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी ४ सय ६० गाउँपालिकाको अध्यक्षमा २ हजार २ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगका अनुसार उपप्रमुख पदमा १ हजार ३ सय १८ तथा उपाध्यक्ष पदमा १ हजार ५ सय ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी कुल ६ हजार ७ सय ४३ वडाको वडाध्यक्ष पदमा १७ हजार ७ सय १ जना, २६ हजार ९ सय ६२ वडा सदस्यमा क्रमशः महिला सदस्य पदमा ११ हजार ६ सय ५५, महिला दलित सदस्य पदमा १० हजार ३ सय ७१ र सदस्य पदमा २४ हजार ३ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयनको पहिलो दिन आइतबार साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको थिए भने दोस्रो दिन सोमबार सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गराउने आउनेहरूको भीड बढेको थियो ।

बाजागाजा, कार्यकर्ता र शुभेच्छुकको लावालस्करका साथ उम्मेदवारहरू उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता उत्साहप्रद रहेको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्