Logo

एक्लाएक्लै भिड्दै ६ मधेसी दल



काठमाडौं, बैशाख १३ । तराईमधेस केन्द्रित ६ दल एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा भिड्ने भएका छन्। ती दलबीच देशैभरि कतै पनि आपसी तालमेल छैन।

उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन्।

सत्तारूढ गठबन्धनमा आबद्ध जसपाले महानगर र उपमहानगर सबैमा तथा एकाध स्थानीय तहमा तालमेल गरेको छ। लोसपाले पनि केही स्थानीय तहमा एमालेसँग चुनावी गठबन्धन गरेको छ। तर कैलालीका एकाध स्थानीय तहबाहेक मधेसी दलहरूकै बीचमा भने कतै पनि चुनाबी तालमेल छैन।

यी ६ वटै पार्टी नयाँ हुन्। यद्यपि जसपा र लोसपाका नेताहरू पुरानै पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी) बाट पछिल्लो स्थानीय निर्वाचनमा सहभागी भएका थिए। यी दुई पार्टीबाहेक जनमत पार्टी, जनता प्रगतशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टी केही महिनाअघि मात्र गठन गरिएका हुन्। पुरानो तमलोपालाई विर्खेशचन्द्र लाललगायत नेताहरूले सक्रिय बनाएका छन्। यस पार्टीले पनि विभिन्न ठाउँमा उम्मेदवारी दिएको छ।

जसपा कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रेणु यादवले मधेस प्रदेशमा जसपाको पहिलेदेखि नै बलियो पकड रहेको भन्दै त्यहाँ कसैसँग सहकार्य आवश्यक नभएको बताइन्। ‘तराई–मधेसमा पहिलेदेखि नै हाम्रो पार्टी बलियो छ। महानगर तथा उपमहानगरमा सत्तारूढ दलहरूबीच गठबन्धन भएको छ। अन्य ठाउँमा हामी एक्लै चुनाव लड्दैछौं,’ उनले भनिन्।

केन्द्रीय नीतिविपरीत जसपा कैलालीले भने सो जिल्लाका केही पालिकामा लोसपा तथा भानु चौधरीको नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ। यो गठबन्धन कैलालीका केही पालिकामा मात्र भएको जसपा सुदूरपश्चिम इन्चार्ज हरिलाल चौधरीले बताए। महानगर र उपमहानगरमा सत्तारुढ दलहरूसँगको गठबन्धनबाहेक देशभर कसैसँग सहकार्य गर्ने पार्टीको नीति नभएको जसपा कार्यकारिणी सदस्य मनीष सुमनले जानकारी दिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्