![](https://reportersnepal.com/wp-content/uploads/2019/12/ciaa-2662019073221-1000x0-768x462.jpg)
काठमाडौं, १३ बैशाख । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा थापाले १ करोड ८६७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको थियो ।
थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्ण बहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत तथा १ करोड ८६७ लाख ४७ हजार १४९ रुपैयाँ बराबरको बिगो दाबी गर्दै कानुन बमोजिम जरिवाना र कैद सजायको माग गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
२०५६ साल साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आ.व. २०७५।०७६ सम्मको जाँच अवधिमा उनले र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरुमा ३ करोड ८९ हजार आम्दानी गरेको र उनको वैध आय २ करोड १ लाख ९८ हजार रहेको देखिएको अख्तियारले जनाएको छ ।