Logo

राष्ट्र बैंकको कदमले पनि घटाउन सकेन आयात



काठमाडौं, बैशाख १४ । चुलिँदो व्यापार घाटा रोक्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरे पनि प्रति महिना करिब डेढ खर्ब रूपैयाँभन्दा घट्न सकेको छैन। विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयतमा कडाइ गरे पनि आयातमा खासै कमी आएको छैन।

मासिक सरदर डेढ खर्ब रूपैयाँका वस्तु आयात हुँदै आएकोमा राष्ट्र बैंकको कडाइपछि पनि चैत महिनामा मात्र एक खर्ब ५८ अर्ब ५२ करोड रूपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ।

चालु आवको नौ महिनामा १४ खर्ब ४४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। मुलुकको व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। पोहोरको चैतसम्म व्यापार घाटा १० खर्ब १६ अर्ब थियो।

चालु आवमा १४ खर्ब ६६ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा एक खर्ब ३० अर्ब रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। पोहोरको तुलनामा चैतसम्म तीन खर्ब ३३ अर्ब रूपैयाँको वस्तु आयात बढेको छ।

पोहोरको तुलनामा प्रतिशतका हिसाबले आयात घटेको देखिए पनि मूल्यमा घटेको देखिँदैन। मुलुकको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब रूपैयाँ पुगेको छ। आयातको हिस्सा ९२.१४ प्रतिशत छ भने निर्यात ७.८६ प्रतिशत मात्र रहेको छ। पोहोरको तुलनामा आयात ३१।९७ प्रतिशतले बढेको छ भने निर्यात ६९.४४ प्रतिशतले बढेको छ।

गत आव २०७७/७८ मा वार्षिक व्यापार घाटा १३ खर्ब ९९ अर्ब रूपैयाँ थियो भने कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब थियो। अहिले नौ महिनामै व्यापार घाटा गत वर्षको १२ महिना हाराहारी पुगेको छ। यो वर्षको नौ महिनामा व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।

राष्ट्र बैंकले केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

निर्यात व्यापारमा सुधार भए पनि सानो हिस्सा भएकाले यसले त्यति ठूलो प्रभाव पार्न सकेको छैन। नेपालबाट निर्यात हुने ठूलो हिस्सामा पाम तेल, सोयाबिन तेल, भटमास तेल रहेको छ। यी वस्तुको कच्चा पदार्थ विदेशबाट आयात गरेर फेरि भारत निर्यात हुने गरेको छ।



प्रतिक्रिया दिनुहोस्