Logo

लिङ्देनको परिक्षा



काठमाडौं, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको नेतृत्वमा पहिलोपटक चुनावी मैदानमा होमिदैछ । कमल थापालाई पराजित गरी अध्यक्ष बनेका लिङ्देनको लोकप्रीयता पनि चुलिएको छ । यो राप्रपाको मात्र परीक्षण नभई लिङ्देनको पनि परीक्षण हो ।

राप्रपाले देशधा ७५३ मध्ये अधिकांश पालिकामा उम्मेदवारी दिएको छ । उसले कतिपय ठाउँमा चुनावी तालमेल पनि गरेको छ । झापामा एमालेसँग राप्रपाको तालमेल छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देन दुवैको गृहजिल्ला हो ।

राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, वीरगञ्जमा गिरिश गिरी जस्ता चर्चित अनुहारलाई मेयरमा बढाएको छ । लिङ्देनले गठबन्धनभित्रका दलमा टिकटको बाँडफाँडलाई लिएर बढेको असन्तुष्टिबाट फाइदा लिन खोजिरहेका छन् । विशेषगरी काँग्रेसका असन्तुष्टको भोट तान्न खोजिरहेका छन् ।
यो चुनावमा राप्रपाको नतिजाले प्रतिनिधि सभा र प्रदेश सभामा उसको स्थितिको आँकलन पनि गर्न सकिन्छ । यसकारण पनि लिङ्देनका लागि चुनाव चुनौती र अवसर दुवै बनेको छ ।

हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा बोकेकामध्ये राप्रपा सबैभन्दा ठूलो दल हो । यो मुद्दाका कारण पनि राप्रपाले मत तान्ने आशा गरेको छ । राप्रपाले ल्याउने मतले मुद्दाप्रतिको आकर्षण कति छ भन्ने देखाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्