Logo

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफलमा



काठमाडौं, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अहिले दुई नेताबीच माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा भेटवार्ता जारी छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता पक्षीय पाँच दलले चुनावी गठबन्धन गरेका छन् ।

गठबन्धनले देशव्यापी रुपमा साझा उम्मेद्धवार उठाएको छ। तर, गठबन्धनमा आवद्ध दलबाट सहमतिविपरित पनि उम्मेद्धवारी दर्ता भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त भोलिसम्म गठबन्धनको सहमतिविपरि त उम्मेद्धवारी दिएकाहरुलाई उम्मेद्धवारी फिर्ता लिन भनेका छन् ।

यता, गठबन्धनमा आवद्ध माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट पनि गठबन्धनको सहमतिविपरित उम्मेद्धवारी परेकाहरुलाई उम्मेद्धवारी फिर्ता लिनको लागि अध्यक्षद्धय प्रचण्ड र माधव नेपालले अपिल गर्ने भएका छन् ।

अहिले उनीहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कतिपय स्थानमा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच पनि चुनावी तालमेल भएको अवस्था छ ।

कतै माओवादी र एमालेबीच पनि तालमेल भएको छ ।

पार्टी केन्द्रको निर्णयविपरित भएका तालमेल खारेज गर्न दाहाल र नेपालले निर्देशन दिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्