Logo

बाँकेका उम्मेदवार मत माग्न घरदैलोमा



काठमाडौँ,१६ वैशाख । बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । उनीहरु मत माग्नका लागि नेपालगञ्ज र आसपासका विभिन्न गाउँ पुग्न थालेका छन् । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेपालगञ्ज उपमहानगरका प्रमुखका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई र नेकपा एमालेका प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र, उपप्रमुख शान्ति ढकाल दिनहुँजसो मत माग्न मतदाताकहाँ पुगेका छन् ।

त्यस्तै राप्रपाका नेपालगञ्ज उपमहानगरका प्रमुखका उम्मेदवार नन्दलालल वैश्यलगायत साना दलका उम्मेदवार पनि मत माग्न घरदैलो पुगेका छन् । यही वैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार प्रशान्त विष्टले नेपालगञ्जको विकासका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताए । जनता समाजवादी पार्टीका उपप्रमुखका उम्मेदवार कमरुद्दिन राईले सामाजिक सद्भाव बढाएर नेपालगञ्ज बदल्ने अभियानमा लाग्ने स्पष्ट पारे ।

एमाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि घरदैलो अभियानमा सक्रियता बढाएको छ । उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र उपप्रमुखका उम्मेदवार शान्ति ढकाल तथा विभिन्न वडामा उम्मेदवार रहेका वडाध्यक्ष र सदस्य आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिका विभिन्न वडामा मत माग्न र जनताको अपेक्षा र समस्या पहिल्याउन जनताको घरदैलोमा आएको प्रमुखका प्रत्यासी मिश्रले बताए ।

उनले मतदाताले सडक, खानेपानी, फोहर व्यवस्थापनको कुरालाई प्राथमिकता दिएको उल्लेख गरे । मिश्रले नेपालगञ्जलाई समृद्ध बनाउन घरदैलो प्रभावकारी हुने विश्वास व्यक्त गरे । उम्मेदवारबाट मतदाताले राखेको अपेक्षा बुझ्न आफूहरू जनताको ढोका–ढोकामा आएको उपप्रमुखको प्रत्यासी ढकालले बर्ताए । उनले भने “सुन्दर र समृद्ध नेपालगञ्जको विकासका लागि हामीले काम गर्न सक्छौँ ।”

यसबाहेक कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरेनापुर गाउँपालिकामा पनि उम्मेदवारले मत माग्न मतदाताकहाँ घरदैलो सुरु गरेका छन् ।

बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडाध्यक्षका लागि दुई हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य गरी कूल ७७९ ले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम डुडुवा गाउँपालिकामा १७७ ले उम्मेदवारी दर्ता गराएका हुन् । बाँकेका ८१ वटा वडाध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेको छ ।

गत निर्वाचनभन्दा यसपटक वडाध्यक्षमा ३८ जना बढीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा कूल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवेदनशील मतदानस्थल रहेको छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी छन् ।

वडाध्यक्षको उम्मेदवारी रद्द

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । उनी मनोनयन हुनुअघि मात्रै नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएको थियो । एमालेको तर्फबाट मनोनयन गर्नुभएका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

उपमहानगरपालिका वडा नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र सञ्जु बंशाकारको उम्मेदवारीसमेत रद्द भएको छ । उनीहरूको दलित भन्ने निस्सा नभएका कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपालगञ्ज उपमहानगरमा २३ वडा छन् ।रासस



प्रतिक्रिया दिनुहोस्