Logo

दाङमा बढ्दै निर्वाचनको माहोल



दाङ, २० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी सरगर्मी निकै बढेको छ । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घरघरमा पुगेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै चुनावी सरगर्मी पनि बढेको हो । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी कूल १० स्थानीय तह रहेको यस जिल्लामा अहिले सबै पालिकाका उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्न चुनावी प्रतिबद्धतासहित मतदातासँग समक्ष पुग्न थालेका छन् ।

सत्ता साझेदार दलको गठबन्धनले गत शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको हो । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा परेको गठबन्धन अहिले भने एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलले जनाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने मनोनयन दर्ता गरेको दिनदेखि नै आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका थियो । गठबन्धका दलका उम्मेदवारका पक्षमा मत माग्न तथा चुनावी सभामा नेकपा ९माओवादी० केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी हिँडिरहेका छन् भने एमालेका उम्मेदवारका पक्षमा चुनावी माहोल बनाउन एमालेका महासचिव शङ्कर पोख्रेल, नेता युवराज ज्ञवाली, केन्द्रीय सदस्य कोमल वली पनि सक्रिय भएर लागेका छन् ।

यसैबीच जिल्लाका दुवै उपमहानगरपालिकामा यतिखेर चुनावी माहोल चुलिएको छ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र नेकपा एमालेबाट पूर्वजिल्ला अध्यक्ष टीकाराम खड्का चुनावी मैदानमा छन् भने उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका जोगबहादुर राना र एमालेका स्यानी चौधरी प्रतिस्पर्धी छन् । उम्मेदवार गिरीले तुलसीपुरनगरलाई आर्थिकरुपमा समृद्ध बनाउन, सुशासन कायम गर्न, भौतिक पूर्वाधार तथा विकास निर्माण गर्न नगरवासीलाई खानेपानीको उचित व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य, सरसफाइको उचित विकास गर्नका लागि गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको मतदाता समक्ष बताउँदै आएका छन् । गिरी कांग्रेसका पाका नेताका रुपमा चिनिन्छन् ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका घनश्याम पाण्डेसँग झिनो मतले उनी पराजित भएका थिए । अर्का प्रतिस्पर्धी खड्काले आर्थिक र सामाजिकसहित समाजका सबै आवश्यकता पूरा गर्नकै लागि आफ्नो उम्मेदवारी भएकाले सहयोग गर्न आग्रह गरे । उनले तुलसीपुरलाई शिक्षा, स्वास्थ्य, खानेपानी र आर्थिकरुपले समृद्ध बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताए । उपमहनगरको प्रमुखमा नेकपा एमालेबाट महेन्द्र शाह, मङ्गोल नेशनल पार्टीबाट जया घर्ती, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र नेपाली, जसपाबाट टोपबहादुर महतारा, उन्नत लोकतान्त्रिक पार्टीबाट जसवीर वली, राप्रपबाट जगधनी चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टीबाट घनश्याम चौधरी र नागरिक मुक्ति पार्टीबाट प्रभा चौधरी पनि चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै उपप्रमुखमा पाँच दलीय गठबन्धनबाट जोगबहादुर राना, एमालेबाट स्यानी चौधरीबीच प्रतिस्पर्धा हुने देखिन्छ । रानाले यसअघि नेकपा एमालेको जिल्लाअध्यक्ष र जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भई काम गरिसको छन् । पार्टी विभाजन भएपछि उनी नेकपा समाजवादीमा लागेको हो ।उपप्रमुख पदका प्रत्याशी चौधरी लामो समयदेखि विभिन्न सङ्घसंस्थामा काम गर्दै आएका छन् । उनले अभिभावकविहीन बालबालिकालाई संरक्षण दिइरहेका छन् । त्यसैगरी चौधरीसहित उपमहानगरको उपप्रमुखमा स्वतन्त्रबाट खेमराज वली, सुशील नेपाली, जसपाबाट धनसरा विक, मङ्गोल नेशनल अर्गनाइजेसनबाट डमबहादुर छन्त्याल, नेकपा एमालेबाट फगनी चौधरी, राप्रपाबाट प्रेमबहादुर शाह चुनावी मैदानमा छन् । उनीहरुले पनि चुनाव प्रसार तथा घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

उता घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धन दलबाट उपमहानगरको प्रमुख पदमा हेमराज शर्मा ‘डायमण्ड’ र नेकपा एमाले बाट नरुलाल चौधरी चुनावी मैदानमा उत्रेका छन् । शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गर्नाका साथै यहाँको कृषि उत्पादन, पर्यटन, स्वास्थ्य र आर्थिक विकासमा पहल गरिनेमा जोड दिए । यसअघि नगरप्रमुखको भूमिका निर्वाह गरिसकेका उम्मेदवार चौधरीले विगतमा आफूहरुले थालनी गरेका कामलाई निरन्तरता दिन, नगरलाई पर्यटन, कला र संस्कृतिमा समृद्ध बनाई नमूना सहरका रुपमा विकास गरिने बताए । उनले आफू नगरप्रमुख भएलगत्तै फोहरलाई माहोर बनाउन सफल भएकाले नगरलाई जलाशयका रुपमा विकास गर्ने, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक कालोपत्रे निर्माण गर्न सफल भएको पनि बताए । नगरप्रमुखमा शर्मा र चौधरीसहित नेकपा एमालेबाट नेत्रप्रकाश पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, लोकतान्त्रिक समाजवादी नेपालबाट सत्यम पुन, नेकपा एकीकृत समाजवादीबाट रामप्रसाद चौधरी, विवेकशिल साझा पार्टीबाट सूर्यप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट कल्पना चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ठाकुर रोका, नेपाली कांग्रेस विपीबाट गोविन्दप्रसाद शर्मा, मौलिक जिरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी, स्वतन्त्रबाट चूडामणि सुवेदी र लिलाबहादुर पुन, चुनावी प्रतिस्पर्धामा छन्। उनीहरुले पनि मतदातासँग भेटघाट गरी आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भूपबहादुर डाँगी एमालेका हुमा डिसीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । डाँगी यसअघि स्थानीय तह निर्वाचनका नगर प्रमुख पदका प्रत्याशी थिए । उनी नेपाली कांग्रेसका क्षेत्रीय सभापति पनि छन्। एमालेबाट उपप्रमुख पदका उम्मेदवार डिसी विभिन्न सामाजिक सङ्घ संस्थामा नेतृत्व सम्भाल्दै हाल नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भएको छन् । त्यसैगरी उपप्रमुखमा नेकपा समाजवादी शोभाकुमारी शाह, विवेकशील साझा पार्टीबाट लक्ष्मी जियम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभु बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादीबाट राधिका क्षेत्री, मङ्गोल नेशनल अर्गनाइजेसनबाट निर्मल थापा, स्वतन्त्रबाट वसन्ताकुमारी भट्टराई चुनावी मैदानमा उत्रेका छन् । दुवै उपमहानगरपालिकाका १९ वटै वडामा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका उम्मेदवार चुनावी अभियानमा सक्रिय भएर लागेका छन् । उनीहरुले पनि आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । तुलसीपुर उपमहानरमा कूल एक लाख सात हजार मतदाता छन् भने घोराही उपमहानगरमा एक लाख १२ हजार ९२७ मतदाता छन् । रासस



प्रतिक्रिया दिनुहोस्