Logo

सप्तरीमा बहुपक्षीय प्रतिष्पर्धा, कस्ले बाजी मार्ला



काठमाडौं, २४ वैशाख । मधेश प्रदेशको महत्वपूर्ण जिल्ला सप्तरीमा यसपटक धेरै दलबीच कडा प्रतिष्पर्धा देखिन्छ । कुनैपनि दलबीच खुलेर गठबन्धन नहुनु र एक्लाएक्लै चुनावी मैदानमा हुनुले चुनाव रोचक बनेको छ ।

२०७४ को स्थानीय निकाय चुनावमा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले बढी पालिकामा जित हासिल गरेका थिए । यसपटक राजनीतिक परिस्थिति बदलिएकाले धेरै दलबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ ।

१८ पालिका भएको सप्तरीमा यसअघि काँग्रेस, तत्कालीन समाजवादी फोरम, तत्कालीन राजपाले ५–५, एमालेले २ र नयाँ शक्तिले १ पालिकामा प्रमुख पदमा जित हासिल गरेका थिए । माओवादी पनि कतिपय पालिकामा कडा प्रतिद्वन्द्वी बनेको थियो । कतिपय उम्मेदवारहरुले दल बदल गरेका छन् ।

सप्तरीमा स्वतन्त्र उम्मेदवारहरु पनि बलियो देखिएका छन् । यस हिसाबले त्यहाँ ६ वटा दलबीच प्रतिष्पर्धा देखिन्छ भने स्वतन्त्र उम्मेदवारहरु पनि केही पालिकामा बाजी मार्ने प्रयासमा छन् ।

नेपाली काँग्रेस, उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपालाई विगतको प्रभाव कायमै राख्ने चुनौती छ । काँग्रेस अझ बढी पालिका जित्ने प्रयासमा छ । माओवादी विगतमा कडा प्रतिष्पर्धामा उत्रिएर पनि हारेको अवस्था उल्टाउने प्रयासमा छ । फुटेको नेकपा एमालेलाई प्रतिष्ठाको लडाईं बनेको छ । यसकारण पनि सप्तरीको चुनावी भिडन्त रोचक बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot