Logo

केपी ओलीको कुरामा प्रतिक्रिया दिँदै हिँड्नु जरुरी छैन, गठबन्धन भताभुंग भएको छैन/हुँदैनः महिन्द्र राय यादव



काठमाडौं, २५ वैशाख । कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले देशभरि ५ दलीय गठबन्धनको स्थिति राम्रो रहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने, “जहाँ जहाँ गठबन्धन भएको छ, त्यहाँ त्यहाँ एकढिक्का छौं । गठबन्धन महानगर र उपमहानगरपालिकामा गरिएको हो । त्यहाँ माथिबाट भएका निर्णय कार्यान्वयन भएको छ । कहीं भताभुंग भएको छैन । असन्तुष्ट भएर उम्मेदवारी दिएका ठाउँमा फिर्ता भइसकेको छ । जसपा स्वायत्तता र पहिचानका लागि लड्ने पार्टी भएकाले अरु स्थानीय तहमा आवश्यकता अनुसार उम्मेदवारी दिएका छौं ।”
केपी ओलीले त असार १७ गते गठबन्धन छिन्नभिन्न हुन्छ भन्नुभएको छ नि पत्रकार धमलाको प्रश्नमा नेता यादवले भने, “केपी ओलीले के के बोल्नुहुन्छ, त्यसमा प्रतिक्रिया दिँदै हिँड्नु जरुरी छैन । यो गठबन्धन राजनीतिक स्थिरताका लागि बनेको हो । यो लामो समयसम्म चल्छ । यो चुनावपछि पनि गठबन्धन जारी रहन्छ ।”
मधेस प्रदेशमा त जसपा कमजोर भएको आकलन छ नि भन्ने अर्को प्रश्नमा मन्त्री यादवले भने, “हाम्रो पार्टीबाट केही साथीहरु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउने प्रतिगामी कित्तातिर गएर अर्को पार्टी गठन गरे । हामीले गठबन्धन गरेकाले देशभरि राम्रो स्थिति छ । जनताले हाम्रो पार्टीको पक्षमा फैसला गर्छन् ।”
कृषिमन्त्री यादवले भारत सरकारले सात लाख मेट्रिक टन मल आउन लागेको जानकारी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot