धनगढी, २५ वैशाख : कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ । चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी-१९ मा कांग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।
प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका-१९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
तर एमालले भने घरमा रोकेर राखेको गाडीलाई धकेलेर सडकमा लगी विपक्षीले सरकारी गाडीमा दलको झन्डा गाडेको आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएका एमाले नेता रणबहादुर चन्दले एमालेलाई बदनाम गराउने उद्देश्यले घरमा रोकेर राखेको गाडीलाई धकेलेर बाहिर लगी झन्डा प्रयोग भएको बताए ।
‘यो एमालेलाई बदनाम गराउने उद्देश्यले बुनेको योजना हो,’ उनले भने, ‘यसको छानबिन हुनु पर्दछ ।’ उनले निर्वाचन आचारसंहिताको पालना गर्न एमालेका सबै उम्मेदवार र कार्यकर्ता कटिबद्ध रहेकाे पनि बताए ।