Logo

प्रमुख बन्ने तयारीमा वडाध्यक्षहरू



सप्तरी, २७ वैशाख । स्थानीय तहको निर्वाचनका लागि तीन दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको सक्रियता झनै तीव्र बन्दै गएको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकार पुरानो स्थानीय निकायको भन्दा व्यापक बनाइएको छ । अर्थात् स्थानीय तहलाई स्थानीय सरकारको अवधारणाअनुसार अघि सारिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत वडाध्यक्षले वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, कार्यान्वयन गर्ने–गराउने, अनुगमन र आवधिक समीक्षा गर्ने, घटना दर्तासहित विभिन्न सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्नेलगायतको प्रशस्त अधिकार र प्रयोग गर्न पाउने भएकाले पनि स्थानीयत तहमा पदाधिकारीको आकर्षण बढेको हो ।

अहिले यही स्थानीय सरकारको प्रमुख बन्ने दाउमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवार आफ्नो क्षेत्रभरि घुम्न मुस्किल भए पनि वडाध्यक्ष र सदस्यभने दोहो¥याएर आफ्नो वडा घुमेका छन् ।यस अघिको निर्वाचनमा देशभर छ हजार ७४३ वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाको १८ स्थानीय तहमा गत निर्वाचनबाट १६४ वडाध्यक्ष निर्वाचित भएका थिए । अहिले वडाध्यक्षका लागि जिल्लामा एक हजार दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चार महिलासहित ९३ र गाउँपालिकामा प्रतिस्पर्धा गर्ने चार महिलासहित १०३ जना छन् । स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिनेमा १९६मध्ये पाँच जना गत निर्वाचनमा वडाध्यक्ष बनेका पनि छन् । पाँच वर्षमा गरेका काम र लोकप्रियताका आधारमा दलहरूले वडाध्यक्षलाई प्रमुख र अध्यक्षमा टिकट दिएको विष्णुपुर गाउँपालिका–६ का अशोक यादवले बताए । प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहो¥याएको भने प्रशस्तै छ ।

शम्भुनाथ नगरपालिका

शम्भुनाथ नगरपालिका–१ का वडाध्यक्ष भइसक्नुभएका इनरदेव साहले अहिले नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)बाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उनले प्रमुखमा उम्मेदवारी पाएका छन् । गएको चुनावमा ४४ मतले पराजित अर्का प्रतिस्पर्धी जितेन्द्रप्रसाद गुप्ता कलवारले नेकपा (एकीकृत समाजवादी) बाट पुनः नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । जम्मा १२ वटा वडा रहेको नगरपालिकामा २३ हजार ८६३ मतदाता छन् । यो पालिकामा प्रमुख राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

सप्तकोशी नगरपालिका

सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष रहनुभएका नारायणप्रसाद आचार्य नेकपा (एकीकृत समाजवादी) बाट नगर प्रमुखको दाबेदार छन् । एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनी आचार्य पार्टी विभाजनपछि अहिले उक्त सक्रिय भएको हो । यसैगरी गत निर्वाचनमा नगरप्रमुखमा विजयी बनेका उत्तमकुमार शर्माले पुनः एमालेबाटै उम्मेदवारी दोहो¥याएका छन् । जम्मा ११ वडा रहेका उक्त नगरपालिकामा १५ हजार ४६१ मतदाता छन् ।

 

बोदे बर्साइन नगरपालिका

बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष रहेका अनोजकुमार यादवले पनि अहिले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । सङ्घीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका उनी अहिले एमालेबाट नगरप्रमुखको उम्मेदवार बनेको हो । जसपाबाट नगरप्रमुखमा आतेशकुमार सिंह यादवले उम्मेदवारी दिने निश्चित देखेपछि उनी एमालेमा प्रवेश गरेका थिए । जम्मा १० वडा रहेको नगरपालिकामा २७ हजार ६५५ मतदाता छन् ।नगरप्रमुखमा प्रमुख राजनीतिक दलसहित आठ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

छिन्नमस्ता गाउँपालिका

शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिका–३ बाट स्वतन्त्ररुपमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादवले अहिले अध्यक्षमा उम्मेदवारी दिएका छन् । बडाध्यक्ष भएपछि उनी सङ्घीय समाजवादी फोरम प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको एक साताअघि नेकपा (एमाले) प्रवेश गरेका यादवले अध्यक्षमा उम्मेदवारी दिएका थिए । गत निर्वाचनमा सो गाउँपालिका एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने वडा नं ५ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन् ।

छिन्नमस्ता गाउँपालिका

छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्षमा निर्वाचित विनोदकुमार यादवले अहिले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट विजयी भएका उनी एक साताअघि माओवादी केन्द्रमा प्रवेश गरी अध्यक्ष पदमा उम्मेदवारी दिएको हो । जयप्रकाश यादवले पार्टी परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन् ।
गत स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादव एमालेबाट, गाउँपालिका अध्यक्षमा निर्वाचित सूर्यनारायण मण्डल नेपाल सद्भावना पार्टीबाट, पूर्वगाविस अध्यक्ष सत्यनारायण यादव जसपाबाट र जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव जनता प्रगतिशील पार्टीबाट अध्यक्ष पदको उम्मेदवार बनेका छन् । उक्त गाउँपालिकामा उनीसहित १४ जना अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । रासस

 



प्रतिक्रिया दिनुहोस्