Logo

मोरङमा मतदान शान्तिपूर्ण



मोरङ,वैशाख ३०
स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ । जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

विराटनगर महानगरपालिकामा मतदान कार्य बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिननुभयो । मतदानका लागि पुरुष, महिला, युवा तथा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बिहान विराटनगर–११ स्थित जनपथ मावि मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा र जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पसमा मतदान गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन् ।
(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot