Logo

मतदान भइरहेका बेला विमानस्थलमा भेटिएका मानसिंहहरु



काठमाडौँ, ३० वैशाख । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौँ बनस्थलिका मानसिंह विष्ट ।

यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सक्नुहसन्न । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए ।

“विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु प¥यो ” किसनले सुनाए । आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उनी घरमै बस्न सकेनन् ।

“ छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ ” मानसिंहले गहभरी आँशु पार्दै भने, “यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।” स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो ।

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफँैमा हृदयविदारक दृश्य भन्दा फरक थिएन । धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् ।

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लाग्नुभएका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उनको काका नै प्रमुखको उम्मेदवार हुन् । “देशभित्र रोजगारी छैन, खानु प¥यो परिवार पाल्नु प¥यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन” यादवले भने “ सामान्य झोला भिरेका यादवले भन्नुभयो “म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।”

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रनु भएका यादव रासससँगको कुराकानीकै क्रममा मलिन सुनिए । उनको गला अवरुद्ध भइरहेको थियो । “परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता ।” पाँच महिनाको छुट्टी लिएर आउनु भएका यादव कतारमा टाइम किपरको काम गर्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot