Logo

मोदीको लुम्बिनी भ्रमणले विश्वभरि नै सकारात्मक सन्देश जान्छः कूटनीतिज्ञ



काठमाडौं, २ जेठ । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको पावन अवसरमा आज लुम्बिनी आउँदै हुनुहुन्छ । यो भारतीय प्रधानमन्त्रीको पाँचौं नेपाल भ्रमण हो । तर लुम्बिनीको पहिलो भ्रमण हो । अहिलेसम्म कुनै भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेका छैनन् । मोदीले बुद्धथलोमा आएर प्रार्थना गरेपछि विश्वव्यापी रुपमा त्यसको सकारात्मक सन्देश जान्छ ।”
डा. भट्टराईले नेपाल भारतबीचको सम्बन्धका आयामलाई व्यापक र दरिलो बनाउन मोदीको भ्रमणले सघाउ पुग्ने पनि औंल्याए । उनले थपे, “नेपाल र भारतको सम्बन्ध व्यापक र गहिरो छ । यस भ्रमणले आपसी विश्वास र समझदारी बढाउन योगदान गर्ने निश्चित छ । यसले थप आर्थिक सहयोग बढाउने अवसर दिएको छ ।”
मोदी बिमस्टेकका धेरै देश बौद्ध धर्मावलम्बी भएकाले बुद्ध सर्किट बनाउन प्रस्ताव पनि गरेकाले त्यसलाई अघि बढाउन पनि भ्रमण उपयोगी हुने कूटनीतिज्ञ डा. भट्टराईले बताए । उनले थपे, “लुम्बिनी, बोधगया, कुशीनगर समेटिने बुद्ध सर्किटले कनेक्टिभिटी बढ्छ । हामी भारतको चासो सम्बोधन गर्न तयार छौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले हाम्रो अनुरोध स्वीकार गरेर तीनवटा एयररुट खुला गर्नुपर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीचको भेटमा नेपाल र भारतका बीचमा रहेका समस्या समाधानमा कुराकानी उनले आशा लिएको पनि उनले बताए । डा. भट्टराईले भने, गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणपछि विश्वासको वातावरण बनेको छ । हामी नजिकका मित्र मात्र नभएर विकासका साझेदार पनि हौं । नेपाल र भारतबीचको समस्या हामीले नै सुल्झाउने हो । कूटनीति र वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ । देउवाले सीमा समस्याका कुरा संयुक्त प्रेस कन्भफरेन्समा उठाउनुभयो । यसलाई संयुक्त संयन्त्रमार्फत समाधान गर्ने पहल गर्नुपर्छ । नेपाल र भारतका बीचमा सहमति गरिए पनि पञ्चेश्वर परियोजना २६ वर्षदेखि कार्यान्वयन गरिएको छैन । त्यसमा अब भारतले पहल गरे जनतामा राम्रो सन्देश जान्छ । त्यसले नेपालको आर्थिक रुपान्तरणमा सहयोग गर्छ । भारतसँग नेपालको व्यापार घाटा थेग्न नसक्ने छ । त्यसलाई सुधार गर्न पनि भारतले उदारता देखाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot