Logo

मदन भण्डारीको हत्यारा पत्ता लागेन, जोन अफ केनेडीको पनि पत्ता लागेको छैनः खगराज अधिकारी



काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले आफ्नो पार्टी अपेक्षाकृत विजय हासिल नगरे पनि लोकतन्त्रले जितेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “स्थानीय तहको निर्वाचनमा सत्ताको व्यापक दुरुपयोग भयो । एमालेको अपेक्षाकृत विजय भएन । तर जनमत उल्लेखनीय छ । गठबन्धनले मतपत्र, मतपेटिका, मतगणनासम्ममा ज्यादती गरेको छ । मौन अवधिको दुरुपयोग भएको छ । तिनले आफूलाई अग्रगामी भनेका छन्, तिनीहरु फन्टुस हुन् । एमालेको चित्तबुझ्दो परिणाम नआए पनि लोकतन्त्रले जितेको छ । त्यसमा सन्तोष मान्नुपर्छ ।”
अधिकारीले तत्कालीन महासचिव मदन भण्डारीको हत्या नै भएको जिकिर पनि गरे । उनले भने, “म जेठ ३ मा मदन भण्डारीलाई विदाई गर्ने व्यक्ति मै हुँ । त्यति बेला म कास्कीको पार्टी सचिव थिएँ । म त्यसलाई हत्या नै भन्छु । छानबिन आयोग बन्दा त्यसका सबै तथ्य नष्ट भइसकेका थिए । कम्युनिस्ट आन्दोलनका विरोधी, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको यसमा हात छ । हत्यारा त जोन एफ केनेडीको पनि पत्ता लागेको छैन । तर कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने कुरा उहाँका विचार अत्यन्त सामयिक छन् । अब हामीले त्यसलाई सम्पुष्ट गर्दै जानुपर्छ ।”
साथै उनले आजदेखि सुरु हुने बजेट अधिवेशनमा पनि एमाले आफ्नो अडानबाट टसमस नभएको बताए । उनले भने, “हामी आफ्नो अडानमा कायमै छौं । संसद् चल्नु वा नचल्नु एमालेको भन्दा पनि सत्तापक्षको व्यवहारमा निर्भर हुन्छ । सरकारले औपचारिकताका लागि अधिवेशन बोलाएको हो । संसद्लाई निकम्मा बनाउने काम उसले गरेकै छ नि ।”

 



प्रतिक्रिया दिनुहोस्