Logo

कर्जा र निक्षेप लगातार ओरालो



काठमाडौं, जेठ ५ । बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख महीनामा मात्र वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । वैशाख तेस्रो साता निक्षेपमा थोरै सुधार देखिए पनि अन्य साताहरूमा भने निक्षेपमा लगातार कमी देखिएको संघले बताएको छ ।

बैंकहरूबाट निक्षेप घट्नुमा प्रमुख कारण स्थानीय तहको निर्वाचन मानिएको छ । निर्वाचनका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम विस्तारै प्रणालीमै फर्किने नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए ।

बैंकहरूको निक्षेपसँगै कर्जा प्रवाह पनि घटेको छ । चैत अन्तिममा ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको बैंकहरूको कर्जा वैशाख अन्तिममा ६ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ । वैशाख तेस्रो साता भने बैंकहरूको कर्जा प्रवाह थपिएको थियो ।

तरलता अभावले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) उच्च भएपछि पछिल्लो समय बैंकहरूबाट नयाँ कर्जा प्रवाह ठप्पप्रायः छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot