Logo

म पनि बलात्कृत हुन सक्छु



सुनिताः म ६-७ वर्षको हुँदा ३र४ वटा फिल्म खेलेकी थिएँ । मलाई ठूलो भएपछि अभिनेत्री, मोडल हुने मन थियो । त्यसैले १२ कक्षाको परीक्षा सकिएपछि म ‘हाउस अफ फेसन’ मा अडिसन दिन गएँ । तर, म त्यहाँ छानिइनँ । तर अडिसनको तस्बिर बाहिर आएपछि मलाई कसैले म्यासेज गर्‍यो । उसले मलाई फोटोसुट गर्न डाक्यो । त्यो सुनेर म एकदमै उत्साहित भएँ । मलाई मोडल बन्नु थियो । त्यसैले म गएँ । फोटो खिच्ने व्यक्ति चलेको अनलाइनको फोटोग्राफर थियो । त्यो फोटोग्राफर र यौन दूराचारी दुवैजना मिलेर मेरो फोटो खिचे । मलाई फोटोसुटको पाँच हजार दिए। त्यो यौन दूराचारीले आफूले सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै मलाई सहभागी हुन प्रोत्साहन गर्‍यो । मैले त्योभन्दा अगाडि पनि सौन्दर्य प्रतियोगितामा भाग लिइसकेकी थिएँ । त्यसैले म त्यो सौन्दर्य प्रतियोगितामा सहभागी भएँ ।

म उक्त प्रतियोगितामा फस्ट रनर्सअप भए । म त्यो व्यक्तिको नाम बताउन चाहन्नँ । मैले कल रेकर्डिङ, टेक्स्ट मेसेजहरु ड्राइभमा राखेको थिएँ । म त्यो मेसेज र कल रेकर्डिङ सुन्दै रुने गर्थें । सायद २०१८ तिर मैले त्यो सबै डिलिट गरिदिएँ । मसँग कुनै पनि प्रमाण छैन ।

विजेता भइसकेपछि एकदिन त्यही यौन दूराचारीले फोन गर्‍यो । तिमी तयार भएर आउ, हामी सक्सेस पार्टी गर्दैछौं भन्यो । कुनै पनि कार्यक्रम भइसकेपछि त्यसको सक्सेस पार्टी गरिन्छ । म तयार भएर एभरेस्ट होटलमा गएँ । मैंले होटलमा कोही देखिनँ । तिमी चाँडै आयौ, पार्टी ६र७ बजेबाट सुरु हुन्छ भन्यो । त्यसपछि उसले मलाई लेमोनेड खान अफर गर्‍यो । त्यो वेलकम ड्रिंक हो भन्यो । मैले पिएँ । त्यसपछि १०-१५ मिनेटपछि मलाई रिंग्यायो । त्यसपछि मैले त्यो यौन दूराचारीलाई घर जान चाहन्छु म ठीक छैन भनें । तिमी विजेता भएर यस्तो गर्ने भनेर मलाई गाली गर्‍यो । पार्टीमा केटीहरुलाई यस्तै होला भनेर अर्को कोठा लिएर राखेको छु । तिमी त्यहाँ गएर आराम गर, सबैजना आएपछि तिमीलाई उठाउन कसैलाई पठाउँछु भन्यो ।

म कोठामा गएँ। त्यतिबेला म १६ वर्षकी थिएँ । मेरो नागरिकतासमेत बनेको थिएन । मलाई त्यतिबेलाको याद भएको भनेको मेरो घरिघरि होस खुलिरहेको थियो । उसले शारीरिक सम्बन्ध राखिरहेको थियो । मलाई एकदम दुखिरहेको थियो । ४:३० र ५:३० तिर मेरो होस खुल्यो । त्यो व्यक्ति मेरो छेउमा नग्न सुतिरहेको देखें । ओछ्यानमा रगत नै रगत थियो । होस खुलेपछिको दृश्यले म एकदम ठूल्ठूलो आवाजमा रुन थालें । त्यो मान्छेले तिम्रो ब्यागमा २० हजार हालिदिएको छु भन्यो। तिमी यो पैसा राख। तिमीलाई पैसा चाहिएको थियो त्यसैले तिमीले मलाई शारीरिक सम्बन्ध राख्न भन्यौ भनेर उसले मलाई म्यानिपुलेट गर्‍यो । म ढोकाको अगाडि उभिरहेको थिएँ, ढोका बन्द थियो । म घरि त्यो व्यक्तिलाई हेर्दै थिएँ घरि त्यो पैसालाई । आफैंलाई ऐनामा हेरिरहेको थिएँ । मसँग के भयो भन्ने कुरामाथि मलाई विश्वास लागिरहेको थिएन । म पनि बलात्कृत हुन सक्छु भन्ने कुरामा मलाई विश्वास नै लागिरहेको थिएन ।

उसले मेरो तस्बिर र भिडियो लिएको र यसबारे कसैलाई भन्यो भने तस्बिर सार्वजनिक गरिदिन्छु भन्यो। एकदम चलेको अनलाइनमा मेरो फोटोग्राफर साथी छ भन्यो । त्यतिबेला म एकदम डराएँ । एकदम असहाय अनुभव भयो ।म रुन पनि सकिनँ । मेरो शरीर जमेको जस्तो भएको थियो । मैले कपडा लगाएँ । उसले नै ट्याक्सी बोलाइदियो । मेरो मोबाइलमा परिवारको २ सय भन्दा बढी मिस्डकल थियो। उसले आफ्नो साथीसँग पनि मलाई शारीरिक सम्बन्ध राख्न लगायो ।

म कसलाई भन्ने भनेर चिन्तामा थिएँ । मेरो प्रेमी थियो मिस्टर खड्का । उसलाई भनेँ । त्यसपछि ऊ रिसले चूर भयो । सिधै उक्त व्यक्तिको कन्सल्टेन्सीमै पुग्यौं । खड्काले उसलाई कुट्यो । स्टाफहरु पनि आए । एकजनाले त तलब दिनुहोस् म आजबाट काम गर्दिनँ सम्म भन्यो । पुराना भिडियो र तस्बिर डिलिट गर्न लगायौं।

त्यसपछि मैले त्यो मिस नेपालुलाई फोन गरें । मैले भने म्याम यो व्यक्तिले मलाई यस्तो-यस्तो गरेको छ । ६ महिनासम्म यस्तो गर्‍यो । म बल्ल यो सत्यता बाहिर निकाल्दैछु । म्याम हामी उसको अफिसमा छौं । कृपया आउनुस् अनि मलाई सहयोग गर्नुहोस् भन्दाखेरि उनले के भनेकी थिइन् म त्यो शब्द नै भन्न चाहन्छु । तिमी किन यो सबै मलाई सुनाउँदैछौ । तिमी बलात्कृत हुनु त तिम्रो समस्या हो । यो मेरो समस्या होइन, मलाई किन सुनाइरहेको ।

मलाई डिल्लीबजारमा रहेको अर्को एजेन्सीले पनि दुर्व्यवहार गरेको थियो । उक्त घटनापछि मैंले मोडल बन्ने सपना त्यागेँ । त्यतिबेला मलाई लाग्यो यो इन्डस्ट्री नै यस्तै छ । सबैजना यही बाटो भएर जान्छन् । सायद उनीहरु यो कुरासँग ओके छन् । तर मलाई यो कुरा चाहिँदैन। यो इन्डस्ट्रीमा केही चाहिँदैन भनेर मैले अभिनेत्री बन्ने मेरो सपनाको ढोका बन्द गरें ।

त्यतिबेला मलाई कसैले सहयोग गरेन । सायद त्यो मेरो गल्ती थियो । त्यो सौन्दर्य प्रतियोगितामा जानु मेरो गल्ती थियो । त्यो लेमोनेड खानु गल्ती थियो । तर मलाई अहिले लाग्छ त्यो मेरो गल्ती थिएन।

मैले यो कुराहरु धेरै वर्ष मेरो मनभित्र राखें । र म सन्चो भइनँ । म भइनँ नि त सन्चो । मैले कति पैसा खर्च गरेर थेरापी गरें । कति औषधि खाएँ । म सन्चो भएँ त ? भइनँ नि त । टिकटकमा बालबालिकाहरूले स्पोन्सर पाएको सुटिङमा गएको देख्छु । तर म उनीहरुका लागि चिन्तित हुन्छु । यदि तपाईंहरु इन्फ्लुएन्सर हौ, अभिनेत्री बन्न चाहन्छौ अथवा मोडल कृपया आफ्नो आमालाई नलिई कहीँ पनि नजाउँ । मैले गरेको गल्ती नगर । (बलात्कृत युवतीले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत् गरेको खुलासा । उनको नाम परिवर्तन गरिएको छ )

 



प्रतिक्रिया दिनुहोस्