Logo

उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर



काठमाडौं, जेठ १२ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकातर्फ नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । देशका ११ उपमहानगरपालिका मध्ये कांग्रेसले नेपालगन्ज, बुटवल र इटहरी उपमहानगर गरी तीनवटा उपमहानगरको नेतृत्व हात पारेको हो ।

यस्तै, नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकासहित दाङकै तुलसीपुर उपमहानगर र बाराको कलैया उपमहानगरमा जित हात पारेको छ ।

यसैगरी, धनगढी, जनकपुर र धरान उपमहानगरपालिकाको नेतृत्व कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवारको हातमा गएको छ । यस्तै, हटौंडा उपमहानगर नेकपा एकीकृत समाजवादी पार्टी र जितपुर सिमरा उपमहानगरको नेतृत्व माओवादी केन्द्रको पोल्टामा परेको छ ।

कांग्रेसबाट नेपालगन्ज उपमहानगरको नेतृत्वमा प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत ल्याउँदै निर्वाचित बनेका हुन् । उनले एमालेका उम्मेदवार पशुपति दयाल मिश्रालाई पराजित गरेका हुन् । मिश्राले भने ११ हजार ६ सय ७५ मत ल्याए ।

यसैगरी, बुटवल उपमहानगरमा कांग्रेसका खेलराज पाण्डेयले ३० हजार २ सय ४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका बाबुराम भट्टराईले २२ हजार ७ सय १८ मत ल्याएर हार बेहोरेका हुन् ।

यसैगरी, इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेलले एमालेका यामकुमार सुब्बालाई पराजित गरे । पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत ल्याएर हार बेहोरेका हुन् ।

दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी ३१ हजार ७ सय २८ मत ल्याउँदै निर्वाचित भए । उनीसँग पराजित माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३ सय ६८ मत ल्याए ।

यस्तै, दाङकै तुलसीपुर उपमहानगरमा एमालेका टीकाराम खड्काले ३१ हजार ४ सय ८ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका गेहेन्द्र गिरी २७ हजार ७ सय १७ मत ल्याएर पराजित भए ।

बाराको कलैया उपमहानगरमा एमालेका विनोदप्रसाद साह २४ हजार १ सय ३९ मत ल्याएर निर्वाचित भए भने उनीसँग कांग्रेसका राजेश राय यादव १८ हजार ५ सय ४० मत ल्याउँदै पराजित हुन पुगे ।

धनगढी, जनकपुर र धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका गोपाल हमाल, मनोजकुमार साह र हर्कराज राई निर्वाचित भए ।

यस्तै, जनकपुरमा साहले १३ हजार ४ सय ६५ मत पाएर निर्वाचित बन्दा एमालेका शिवशंकर रायले ९ हजार ५ सय ३२ मत ल्याई पराजय भोगे ।

धरानमा राईले २० हजार ८ सय २१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार किशोर राई १६ हजार ६५ मत पाएर पराजित भए ।

यस्तै, हेटौंडा उपमहानगरमा नेकपा एसकी उम्मेदवार मीनाकुमारी लामा २३ हजार ७५ मत पाउँदै निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याएर हार बेहोरे ।

यसैगरी, जितपुर सिमरा उपमहानगरमा माओवादी केन्द्रका राजन पौडेलले १८ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याउँदै पराजित बनेकी हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot