काठमाडौं, जेठ १२ । केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि र अभाव चर्किने देखिएको छ ।
वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन हाराहारी मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ ।
विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो ।
ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ । पाकिस्तानले यसअघि नै चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेकाले भारतको पछिल्लो निर्णयले नेपालमा चिनीको अभाव र महँगी बढ्ने सरोकारवाला बताउँछन् ।
नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर गर्ने बताउँछन् । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको माग छ । स्वदेशमा यो वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । भारतको प्रतिबन्धले निकट भविष्यमै नेपाली बजारमा चिनी अभाव हुने उनले बताए । भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ ।
सरकारी अनुदानको चिनी आयात र विक्री–वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३२ टनमात्रै मौज्दात छ । उक्त मौज्दात सकिन नदिन साल्ट ट्रेडिङले खुद्रा रूपमा मात्रै चिनी बेच्ने गरेको छ । ५० हजार मेट्रिक टन चिनी किन्न सरकारसँग अनुमति मागेको डेढ वर्ष पुग्न लागे पनि त्यसमा बेवास्ता भइरहेको साल्ट ट्रेडिङका अधिकारी बताउँछन् ।
पछिल्लो समय साल्ट ट्रेडिङले आफ्नो चिनी भण्डार रित्तिन नदिन अन्तरराष्ट्रिय र आन्तरिक टेन्डरबाट १० हजार टन चिनी किन्न खोजे पनि भारतको प्रतिबन्धले खरीद प्रक्रिया प्रभावित हुने देखिएको प्रवक्ता कुमार राजभण्डारीले बताए । यसले नेपालमा चिनी अभाव हुने र मूल्य बढ्न सक्ने उनको भनाइ छ ।
बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ । भारतको प्रतिबन्धपछि ठूला व्यापारीले कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्न सक्ने खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । खाद्यसंकट सृजना हुन सक्ने अवस्था देखिएकाले मौज्दातमा रहेका खाद्यवस्तुको संयमित प्रयोग तथा उचित व्यवस्थापनमा सरकार र सबै सरोकारवाला लाग्नुपर्ने उनको सुझाव छ । रूस–युक्रेन तनावले खाद्यान्न संकट आउन सक्ने भन्दै भारत, मलेशिया, इन्डोनेशिया, सर्बिया, कजाकस्तानलगायत मुलुकले खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् ।
भारत सरकारको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले मंगलवार एक सूचना जारी गरी यही जेठ १८ देखि कात्तिक १४ गतेसम्म चिनी निकासीमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । आर्थिक अभियान दैनिकबाट