काठमाडौं, जेठ १६ । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भिरमा आईतबार दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार यात्रुहरुको शव काठमाडौं ल्याउन लागिएको हो । शवलाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने छ ।
क्षणभरमै छोप्ने कुहिरोले उद्वारकार्यमा चुनौती दिदै आएको छ। उद्वारमा खटिएका हेलिकप्टरहरु दुर्घटनास्थल नजिकै अवरतण गर्न सकिरहेका छैनन् ।
उद्वारमा खटिएका नेपाल आर्मीसहितको तीन वटा हेलिकप्टर मौसम खराव हुँदा ११ हजार फिटको उचाई भन्दा माथि जान सकेका छैनन् । दुर्घटनास्थल १४ हजार ५०० फिट उचाईमा रहेको छ । हेलिकप्टरले ११ हजार फिटको उचाईमा उद्वार टोलीलाई छाडेपछि त्यहाँबाट झन्डै दुई किलोमिटर उचाईतर्फ उद्वार टोली पैदल गईरहेको छ ।
आज बिहान जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टरले तीनजना सेना र चारजना शेर्पालाई घटनास्थलमा उतारेको थियो । अहिले तीनजना नेपाली सेना र चारजना शेर्पाको टोलीले दुर्घटनास्थलमा छरिएर रहेका शवहरु संकलनको काम गरिरहेको छ । त्यसयता थप अवतरण हुन सकेको छैन् । घटनास्थलमा यार्सा टिप्न गएका आठ जना र एकजना स्थानीयबासी पनि उद्धारमा जुटेका खवर प्राप्त भएको छ ।
उद्धारमा जुटेकाहरुले घाइतेहरुको खोजी गरे पनि कसैलाई नभेटिएको बताएका छन्। उनीहरुले अहिले छरपस्ट जहाजका टुक्रा र यात्रुका शवहरु संकलन थालेका छन्। हेलिकप्टर दुर्घटनास्थल नजिक अवतरण हुन नसक्दा संकलन गरिएका शवहरु पैदल दुई किलोमिटर तल झार्नु पर्ने अवस्था देखिएको छ । मौसमले साथ नदिदा संकलन गरिएका शव काठमाडौं ल्याउनसमेत समस्या देखिएको छ ।