Logo

भारतको अमेरिकासँग निकटता बढेपछि चीन बोल्यो



काठमाडौं, १७ जेठ । भारतको अमेरिकासँग निकटता बढ्दै गएको छ । भारतको अमेरिकासँग व्यापार बढेर चीनलाई पनि उछिनेको छ ।

भारतको अमेरिकासँगको व्यापार ह्वात्तै बढ्नुले विश्वभर चासो बढेको छ । विशेषगरी चिनियाँ कम्पनीहरु भारतमा गैरकानूनी गतिविधिमा कारबाहीमा पर्न थालेका छन् । सीमा विवाद र झडपपछि भारतले चीनसँग दूरी बढाउँदै लगेको छ । यसको असर व्यापारमा देखिन थालेको छ ।

चीनले भने भारतसँगको सम्बन्ध सुमधुर नै रहेको बताएको छ । सीमाको स्थिति स्थिर रहेको र दुई देशबीच कूटनीतिक तथा सैन्य माध्यमले घनिष्ठ सम्पर्क भइरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले आज बताएका छन् । उनले दुई देशबीच आपसी विश्वासमा समेत जोड दिए । चाउले भने,‘सीमा विवादलाई आपसी सम्पर्कबाट यथास्थानमा राख्नुपर्छ र प्रभावकारी ढंगले किनारा लगाउनुपर्छ ।’

भारतका लागि चीन अझै पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चाउको दाबी थियो । दुई देशबीच सन् २०२१ मा १ खर्ब २५ अर्ब ६६ करोड डलर द्विपक्षीय व्यापारिक साझेदारी रहेको समेत बताए ।

भारतले आर्थिक अनियमितताको कारण देखाउँदै चिनियाँ कम्पनीहरुमाथि अनुसन्धान गरिरहेकोमा समेत चासो व्यक्त गरे । चाउले जेइटीई र भिभो मोबाइलका अलावा स्याउमी कम्पनीहरुमा भइरहेको अनुसन्धानमा चीनले ध्यान दिइरहेको बताए । उनले चिनियाँ कम्पनीहरुको रक्षाका लागि दृढतापूर्वक उभिने समेत बताए ।

भारत चीनसहितको ब्रिकमा पनि छ । दुवै देशबीच उच्चस्तरीय भेटवार्ताहरु पनि हुँदै आएका छन् । तर, सीमानाकामा केही वर्ष अघि झडप भएपछि सम्बन्ध चिसिएको छ । भारतको ध्यान अमेरिकासहित पश्चिमा देशहरुसँगको सम्बन्धमा गएको छ । अमेरिकाले भारतमा लगानी समेत वृद्धि गरेको छ । यसले चीनसँगको व्यापारिक सम्बन्धमा पनि असर परेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्