एजेन्सी । युईएफए नेसन्स लिगमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका हुन् ।
इस्टेडियो बेनिटो भिल्लामारिनमा भएको खेलमा स्पेनको लागि अल्भारो मोराटा र पोर्चुगलको लागि रिकार्डो होर्टाले एक/एक गोल गरे । खेलको १५ औं मिनेटमा साराबियाको पासमा मोराटाले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा कान्सेलोको पासमा होर्टाले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए ।
बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अङ्क बाढे । बराबरीसँगै पोर्चुगल समूहको दोस्रो र स्पेन तेस्रो स्थानमा रहेका छन् । गएरातिनै भएको समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २-१ गोलले पराजित गरेको हो ।