Logo

नुपुर शर्माको विवादस्पद अभिव्यक्तिप्रति मुस्लिम देशहरूको आपत्ति



एजेन्सी, २३ जेठ । बीजेपीका पूर्व प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीप्रति मुस्लिम देशहरूले लगातार आपत्ति जनाइरहेका छन्।

कतारले आइतबार सबैभन्दा पहिले आफ्नो असन्तुष्टि व्यक्त गरेपछि कुवेत, साउदी अरेबिया, अफगानिस्तान, इरान, पाकिस्तान जस्ता देशहरूले आपत्ति जनाएका हुन्।

यी बाहेक मुस्लिम देशहरूको संस्था अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पनि असन्तुष्टि व्यक्त गरेको छ ।
बीजेपी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा दिएको विवादास्पद बयानको निन्दा गर्दै साउदी अरबले विज्ञप्ति जारी गरेको छ ।

यसअघि कतार, इरान र कुवेतले पनि नुपुर शर्माको भनाइप्रति कडा आपत्ति जनाएका थिए । साउदी अरेबियाले सबै धर्म र आस्थाको सम्मान गर्नुपर्ने बताएको छ ।

त्यस्तै, अफगानिस्तानको तालिबान सरकारले ’भारतको सत्तारूढ दलका नेताद्वारा पैगम्बर मोहम्मद विरुद्ध अपमानजनक शब्दहरू प्रयोग गरेको कडा निन्दा गरेको छ । ५७ मुस्लिम देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पैगम्बर विरुद्धको बयानको विषयमा आपत्ति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot