Logo

बुद्धको उपदेशले विश्वलाई प्रभाव पारेको छ : प्रदेश प्रमुख खापुङ



काठमाडौं, २३ जेठ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् ।

धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले स्विकार्न थालेको बताए ।

धरान–४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाई थियो ।

सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले यहाँको पर्यटन प्रवर्द्धनको सुरुवात भएको बताउँदै धरानको जलाधार क्षेत्रको संरक्षण हुने प्रदेश प्रमुखको भनाई थियो । विग थाउजेन्ड बुद्ध भनेर १७५ फिट अग्लो बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा महत्त्वपूर्ण भूमिका हुने प्रमुखको थप भनाई थियो ।

कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउजेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने दाबी गरेका थिए ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले अहिले विश्व अशान्ति भइरहेको बेलामा बुद्धको सन्देश र ज्ञानको अनुसरण गरे शान्ति कायम हुने बताएका थिए । उनले यस्तो महत्त्वपूर्ण कार्यक्रममा धराने जनताले विश्वास गरेर अभिमत दिएका धरान उपमहानगरपालिकाका मेयर र उपमेयर कार्यक्रममा उपस्थित नभएकोमा आफूलाई दुःख लागेको पनि बताए ।

कार्यक्रममा धरानकी समाजसेवी सरला कायस्थ, हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष तथा सूर्योदय बुद्ध विहार व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot