Logo

आजदेखि फोहोर उठ्ने



काठमाडौं, जेठ २४ । काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको छ ।

लामो समयदेखि फोहोर थुपिँ्रदा काठमाडौंमा हैजाको भय बढेको थियो । सहरी विकास मन्त्रालयमा सोमबार रातिसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो ।

सरकारी पक्ष र सिसडोल तथा बन्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्ने निर्णय गर्दै त्यसका लागि समय तालिकासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

हरेक दिन बन्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए । यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए ।

बोहराका अनुसार अहिलेलाई विगतमा जसरी फोहोर लगिन्थ्यो, त्यसरी नै लगिनेछ तर साउन १ देखि भने नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ । असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्ने जनाइएको छ ।

साउन १ पछि कुनै पनि घरका मानिसले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर फाल्न ल्याएमा भने उनीहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । यसबीच काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोस्ट मलमा परिणत गर्न ठाउँ खोज्ने भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot